पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा कुनै भूमिका दिइएको छैन : जनार्दन शर्मा

माघ १, २०८१ |रुपेश श्रेष्ठ
पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा कुनै भूमिका दिइएको छैन : जनार्दन शर्मा

के पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा उपाध्यक्ष हैसियतमा फर्किनुभएको हो ?

पार्टीका उपमहासचिव जनार्दन शर्माले पुनलाई हालसम्म कुनै भूमिका नदिइएको स्पष्ट पार्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँग एउटै लहरमा देखिनुभएका पुनलाई उपाध्यक्षको भूमिका दिइएको आकलन गरिएको थियो । केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा दाहालको दायाँपट्टि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए भने बायाँपट्टि पुन थिए । 

पुन बसेको स्थानमा 'उपाध्यक्ष' लेखिएको ट्याग राखिएकोमा पुनलाई अध्यक्ष दाहालले उपाध्यक्षका रूपमा पार्टीमा भित्र्याएको हुनसक्ने चर्चा थियो। तर पुनलाई आमन्त्रित सदस्यका रूपमा मात्रै केन्द्रीय कमिटी बैठकमा बोलाइएको शर्माले बताउनुभयो ।

“पार्टीको केन्द्रीय कमिटी जस्तो संरचना नितान्त आन्तरिक बैठकमा उपराष्ट्रपति भइसकेको व्यक्तिलाई त्यसरी निम्तो गर्ने परिपाटी हुन्छ?” कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडको प्रश्नमा शर्माले आफ्ना लागि पनि यो नयाँ अभ्यास लागेको बताउनुभयो ।

“यसअघि यस्तो हुन्थेन । हाम्रो मात्र होइन, अन्य पार्टीमा पनि यस्तो अभ्यास सुरू भएको देखिएको छ”, नेकपा एमालेका कार्यक्रमहरूमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितातर्फ इंगित गर्दै शर्माले भन्नुभयो ।

हेर्नुहोस् जनार्दन शर्मासँगको फायरसाइड :

अध्यक्षले बोलाएर पुन पार्टीमा आएको नभई आफ्नै इच्छाले आएको शर्माको भनाइ छ। “पार्टीमा योगदान गर्ने इच्छा भएकाले उहाँ आउन खोज्नुभएको हो”, अध्यक्ष दाहालले पनि त्यही जानकारी गराएको शर्माको भनाइ छ ।

पुनलाई के भूमिका दिने त ? भन्ने प्रश्नमा शर्माले पार्टीले त्यसबारे कुनै निर्णय गरिनसकेको र ठोस छलफल पनि नभइसकेको बताउनुभयो । पुनलाई दिने भूमिकाबारे पार्टीको आगामी महाधिवेशनले तय गर्ने शर्माको भनाइ छ ।

केन्द्रीय कमिटी बैठकले अर्को वर्षको मंसिरमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाउने निर्णय गरेको छ ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement