काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्प अघिल्लो वर्ष भएको निर्वाचनमा विजयी नभएको भए २०२० को राष्ट्रपतीय निर्वाचनलाई अवैध रुपमा उल्टाउन खोजेको अभियोगमा दोषी ठहरिन सक्ने न्याय मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
ट्रम्प २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग पराजित हुनुभएको थियो । तर उहाँका समर्थकको भिडले उक्त निर्वाचन परिणाम प्रमाणित गर्न कंग्रेसको बैठक बसेका बेला संसद् भवनमा आक्रमण र हुलदंगा गरेको थियो । अमेरिकी संसद् कंग्रेसलाई सार्वजनिक गरिएको विशेष अभियोजक ज्याक स्मिथको प्रतिवेदनमा प्राप्त प्रमाणहरु ट्रम्पलाई दोषी ठहर्याउन पर्याप्त रहेको उल्लेख गरिएको छ ।
उता ट्रम्पले भने स्मिथ मानसिक रुपमा विक्षिप्त रहेकाले उहाँको निष्कर्ष झुठो भएको प्रतिक्रिया दिनुभएको छ । न्यायाधीश ऐलिन क्याननले निर्वाचनमा हस्तक्षेपसम्बन्धी मुद्दामा स्मिथले तयार पारेको प्रतिवेदनको पहिलो दुई भाग सार्वजनिक गर्न अनुमति दिएपछि १३७ पेज लामो दस्तावेज अमेरिकी संसद्मा पठाइएको थियो ।
ट्रम्पले २०१७ देखि २०२१ सम्मको पहिलो कार्यकालको समाप्तिपछि पनि सरकारी गोप्य कागजात आफ्नो निजी निवासमा राखेकोसम्बन्धी मुद्दाको अनुसन्धानसम्बन्धी अंश सार्वजनिक गर्ने वा नगर्ने विषयमा भने यसै साता सुनुवाइ हुनेछ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पाँच दिनपछि अर्थात् यही जनवरी २० मा दोस्रो कार्यकालका लागि शपथ लिँदै हुनुहुन्छ । उता ट्रम्पको मुद्दाको अनुसन्धान गर्दै आएका न्याय मन्त्रालयका विशेष अभियोजक ज्याक स्मिथले गत साता मात्रै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।
ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता गरिए पनि गत वर्षको नोभेम्बरमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विशेष अभियोजक स्मिथले दुवै मुद्दा फिर्ता लिनुभएको थियो । मुद्दा कमजोर भएका कारण नभइ न्याय मन्त्रालयले सत्तासीन राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नपाउने वैधानिक व्यवस्थाका कारण आफूले मुद्दा रद्द गर्न आवेदन दिएको स्मिथले बताउनुभएको थियो । अदालतले बिना कुनै पूर्वाग्रह ती मुद्दा रद्दा गरिएको आदेश दिएको थियो । जसको अर्थ राष्ट्रपतिका रुपमा ट्रम्पले आफ्नो दोस्रो कार्यकाल पुरा गरिसकेपछि पुन: मुद्दा दर्ता गर्न सकिने हुन्छ ।