किरात लिम्बू समुदायले नयाँ वर्ष मनाउँदै

माघ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
किरात लिम्बू समुदायले नयाँ वर्ष मनाउँदै

पाँचथर । माघ १ गते आज किरात लिम्बू समुदायले नयाँ वर्षको रूपम यो पर्व मनाउँदै छन् । यो समुदायले माघे संक्रान्तिलाई कुसङ यले तङबेका रूपमा नयाँ वर्ष मनाउने गर्छन् ।

माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेश पुगेका लिम्बू समुदायले नयाँ वर्ष धुमधामका साथ मनाउने गरेका हुन् । किराती पात्रो अनुसार आजदेखि यले तङबे ५०८५ सुरू भएको छ ।

विविधताको पर्व मकर संक्रान्ति अर्थात् माघी पर्वसँगै किरात नयाँ वर्ष सुरू हुन्छ । किरात संवत् नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो छ । यले तङवे संवत् किराती राजा यलम्बरले शासन सुरू गरेपछि मनाउन थालिएको मान्यता छ ।

माघे संक्रान्तिदेखि लेकाली भूभागमा पाइने चाँप फूल फूल्न सुरू हुन्छ । त्यसैले लिम्बू समुदायले माघे संक्रान्तिलाई ककफेवा तङनाम भनेर पनि मनाउँछन् ।

यो पर्वमा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल कालो हुने गरी पोलेर परिवारका अन्य सदस्यलाई टीका लगाइदिँदै आर्शीवाद दिने चलन छ । किरात यले तङवे लिम्बू बहुल पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ईलाम, झापा, धनकुटा लगायतका जिल्लामा भव्यतापूर्वक मनाइन्छ । अचेल यो पर्व काठमाडौं, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व मनाउने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement