काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको आरोप लगाउनुभएको छ । ‘भ्रष्टाचारीलाई बचाउने उदेश्यले नै संसदको पहिलो र दोस्रो दल रातारात मिलेका हुन् । यो गठबन्धन अपारादर्शी छ, अप्राकृतिक छ,’ उहाँले भन्नुभयो ।
आज सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गर्नुभयो ।
मध्यरातमा जनताबाट लुकाएर अप्राकृतिक गठबन्धन बनेकाले कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेको दाबीसमेत उहाँले गर्नुभयो ।
संवैधानिक व्यवस्था, विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको भन्दै उहाँले सदन बोलाउन माग गर्नुभयो ।
सिन्धुपाल्चोकको प्रत्येक विपद्मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको दाबीसमेत उहाँले गर्नुभयो ।