रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीमा बुझाएको हो । अनुसन्धान प्रतिवेदनमा थप १४ जनालाई प्रतिवादी बनाएर पठाएको प्रहरीले जनाएको छ। एक अर्ब तीन करोड रहेको विगो दाबीलाई बढाएर अहिले नोक्सानीबापत एक अर्ब १२ करोड बिगो दाबी गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
सुप्रिम सहकारी बचत हिनामिना गरेको भन्दै १८ सय ३१ जना पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगी मुद्दामा अनुसन्धान गरिरेको थियो । जीबी राई, दीपेशकुमार पुन, सागर केसीलगायतका २८ जनालाई प्रतिवादी बनाएर वैशाख तीन गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
प्रतिवादीहरूको बयानसँगै वादी-प्रतिवादीहरूका वकिलहरूको थुनछेक बहस सकिएसँगै वैशाख सात गते अदालतको आदेश आएको थियो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्रीप्रकाश उप्रेतीले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा राख्ने आदेश पक्राउ परेका अरू प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश भएको थियो ।
पुन चार लाख धरौटीमा छुटेका थिए । सुप्रिम सहकारीको भैरहवा सेवा केन्द्रकी कर्मचारी प्रमुख दुर्गा चापागाईं पाण्डे १८ लाख, कर्मचारी नवीन अछामी दश लाख, दीपक न्यौपाने चार लाख ४५ हजार, निता थापामगर र रोशनी गुरुङ दुई दुई लाख धरौटी बुझाएर रिहा भएका थिए । प्रतिवादीमध्ये भविश्वर अर्याल र कुमार रम्तेल अन्य मुद्दामा कास्की कारागारमा रहेकाले बयानपछि फेरि उतै फर्काइयो भने १९ जना फरार छन् ।
गत कात्तिक ८ गते रवि लामिछाने, छविलाल जोशीलगायतका १२ जना समेतले सहकारीको रकम हिनामिना गरेको पुरक जाहेरी परेपछि प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति ल्याएको थियो । १२ जनामध्ये प्रहरीले रवि र छविको मात्र बयान लियो भने अन्य फरार छन् ।