काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथी नहुने प्रष्ट पार्नुभएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने दाबी गर्नुभएको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्र संविधान संशोधन हुने अभिव्यक्ति दिनुभएको थियो । उहाँका अभिव्यक्तिलाई लिएर कांग्रेसका केही नेताले टिप्पणी गरिरहेका बेला सरकारका प्रवक्ता गुरुङले भने दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधन हुने बताउनुभएको हो ।
प्रवक्ता गुरुङले संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेतमात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुनसक्ने बताउनुभयो । संविधान संशोधन गर्नुपर्ने कारण पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गरिने मन्त्री गुरुङको भनाइ थियो ।