नवलपरासी । ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगर्दा बुटवल-नारायणगढ सडक विस्तारको काम वर्षौंदेखि अलपत्र छ । पछिल्लो साढे पाँच वर्षयता यो खण्ड भएर यात्रा गर्ने यात्रु र स्थानीयले पाएको सास्ती भनिसाध्य छैन । ठेक्का लागेको पाँच वर्ष पाँच महिनामा भौतिक प्रगति केवल ५३ प्रतिशत मात्रै छ ।
सम्झौता अनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक विस्तारको काम दुई वर्ष पहिल्यै सम्पन्न भइसक्नुपर्ने थियो । तर, ठेकेदारको चरम लापरबाहीले तीन घण्टा लाग्ने यो सडकखण्डको यात्रा गर्न अहिले कम्तीमा ६ घण्टा लाग्छ । दाउन्ने खण्डमा त धुलो र खाल्डाखुल्डीले यात्रा निकै जोखिमपूर्ण छ ।
यो सडकखण्ड आसपासका स्थानीयले धुलो र हिलोको सास्ती खेपिरहेका छन् । राजमार्ग छेउका बजारमा मास्क नलगाई बस्नै सकिँदैन । सडकको दुरावस्थाले बुटवल-काठमाडौं आउजाउ गर्ने यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्दा व्यापार समेत सेलाएको छ ।
२०७५ चैतमा काम सुरू भएको यो सडकको स्तरोन्नति २०७९ साउनमा पूरा भइसक्नुपर्ने थियो । कोरोना महामारी र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गतेसम्मका लागि म्याद थपियो । दोस्रो पटक फेरि २०८१ साउन ८ गतेसम्म म्याद थप भयो । तर यसपटक पनि उस्तै ढिलासुस्ती भई काम सम्पन्न नभएपछि तेस्रो पटक म्याद थप भएको छ । अब २०८२ साउन ८ गतेसम्म सडक बनिसक्नुपर्नेछ ।
११४ किलोमिटर सडक पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडेर काम भइरहको छ । अहिलेसम्म ६५ किलोमिटर एकतर्फी र २२ किलोमिटर दुईतर्फी सडक कालोपत्र भएको छ । १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बनिरहेको हो । ठेक्का तोड्ने चेतावनी केही काम गरेजस्तो गर्ने ठेकेदारले तेस्रो पटक थपिएको म्यादभित्र पनि काम सक्ने आधार देखिँदैन ।