काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ ।
लामिछानेले अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएपछि प्रहरीले उहाँलाई पोखरा स्थित फिस्टेल अस्पतालमा लगेको हो । उहाँलाई स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिन पछि धरौटीमा बुझाएर रिहा हुन लाग्नुभएको हो ।
यसैगरी गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १२ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङ तथा आरती गुरुङसँग ५/५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको हो । लिला बाहेक अन्य प्रतिवादीहरु धरौटी बुझाएर रिहा भएका छन् ।
पुस ७ गते जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा एक अर्ब ५१ करोड ४० लाख बिगो दाबी गर्दै रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।