नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँः मन्त्री पाण्डे

पुस २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताउनु भयो ।

नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताउनु भयो । समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एकअर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनु भयो । उहाँले सहकार्य हार्दिकता बिना प्रतिफल नमिल्ने बताउनु भयो । ‘आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौँ । हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ,’ पर्यटनमन्त्री पाण्डेले भन्नुभयो ।

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गर्नुभयो । वायुसेवा निगमले सेवा दिनसके यात्रुको कमी नहुने बताउनु भयो । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढेको खण्डमा वायुसेवालाई निकै सुदृढ गर्न सकिने बताउनु भयो । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी) मा ठूलो जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement