कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसै गरी गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १२ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङ तथा आरती गुरुङसँग ५/५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ ।
आजै यो मुद्दामा थुनछेकको बहस सकिएको थियो । आज सरकारी वकिलले जवाफी बहस गरेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र उच्च अदालतका न्यायाधीवक्ता गोविन्दराज गौलीले आज बहस गरेका थिए । सहकारीको रकम हिनामिना प्रकरमा हाल पूर्वगृहमन्त्री लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङसमेत गरी सात जना हिरासतमा छन् ।
यही पुस ७ गते जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा एक अर्ब ५१ करोड ४० लाख बिगो दाबी गर्दै रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
हेर्नुहोस् यस्तो छ कास्की जिल्ला अदालतको आदेश :