कस्तो छ नेपाली महिला क्रिकेटको विगत, वर्तमान र भविष्य ?

पुस २५, २०८१ |सुवास रोकाया
कस्तो छ नेपाली महिला क्रिकेटको विगत, वर्तमान र भविष्य ?

काठमाडौं । पहिलो पटक विश्वकप खेल्न लागेको अन्डर १९ महिला क्रिकेट टोली हाल अन्तिम तयारीमा व्यस्त छ । कुनै समय नेपाली महिला क्रिकेट टिमले पुरुष टिमभन्दा पहिला विश्वकप खेल्छ भन्ने विश्वास गरिन्थ्यो । तर उचित प्रशिक्षणको अभाव, सीमित स्रोत र पूर्वाधारको कमी तथा महिला खेलाडीलाई प्रोत्साहन हुने वातावरण नहुँदा त्यो सम्भव भएन । आज हामी नेपालमा महिला क्रिकेटको विगत, वर्तमान र भविष्यबारे चर्चा गर्ने छौं ।

नेपालमा महिला क्रिकेटको इतिहास लामो छैन । २०६१ सालतिर आएर राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले महिला क्रिकेटको परिकल्पना गरे । एसियन क्रिकेट काउन्सिलले महिला क्रिकेट प्रवर्द्धन गर्न विभिन्न प्रतियोगिता गर्न थालेपछि क्षेत्रीको परिकल्पनाले मूर्त रुप लियो । सन् २००७ मा मलेसियामा भएको पहिलो एसीसी महिला प्रतियोगितामा थाइल्यान्डविरुद्ध खेल्दै नेपालले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको हो । नेरी थापाको कप्तानीमा रहेको नेपालले थाइल्यान्डविरुद्ध त्यो खेलमा ५५ रनको एतिहासिक जित हात पारेको थियो ।

त्यसबेला नेपालको पुरुष टोलीलेभन्दा पहिले महिलाले विश्वकप क्रिकेट खेल्छ भनेर लख काटिन्थ्यो । तर, समयले यस्तो कोल्टे फेर्यो कि नेपाली महिला क्रिकेट टोलीभन्दा पुरुष टोलीको सफलताको बेग कयौं गुणामाथि पुग्यो । थाइल्यान्डले दुई पटक विश्वकप खेलिसक्यो, नेपालले भने विश्वकप छनोटमा पनि प्रभावशाली प्रदर्शन गर्न सकिरहेको छैन । तर हालको अन्डर १९ महिला टिमले आशाको नयाँ किरण जगाएको छ ।

पहिलो सहभागितामै नेपाल एसीसी महिला प्रतियोगिताको उपविजेता बनेपछि महिला टिमलाई पुरुषभन्दा उत्कृष्ट मानिएको थियो । सोही प्रतियोगितामा नेपाल २००९, २०११ र २०१३ मा सेमिफाइनलसम्म पुग्यो । २०१४ मा भने समूह चरणबाटै बाहिरियो । नेपालले २०१० र २०१४ मा एसियाली खेलकुदमा समेत सहभागिता जनायो । २०१२ र २०१६ मा लगातार २ सिजन एसियाकप खेलेको नेपालले त्यसपछि यो प्रतियोगितामा छनोट हुन ९ वर्ष लगायो ।

२६-अप्रिल-२०१६ नेपाली क्रिकेटका लागि खराब दिन सावित भयो । बोर्डमा सरकारी हस्तक्षेपलाई लिएर आईसीसीको बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । महिलाका लागि घरेलु प्रतियोगिता बढ्दै गएका बेला क्यान निलम्बनमा परेको थियो । अक्टोबर २०१९ मा आईसीसीले क्यानमाथिको निलम्बन हटायो । त्यसक्रममा नेपालले विश्वकप छनोटका खेल त खेल्यो तर सफलता हात पार्न सकेन । अन्य प्रतियोगिता नहुँदा कमसेकम चार वर्षका लागि नेपाली महिला क्रिकेट ठप्प नै भयो । न खेल भयो, न अभ्यास न त प्रतियोगिता नै । त्यसैले गर्दा नेपाली क्रिकेट एक दशकपछि धकेलियो ।

नेपालले २०१९ को १३ औं सागमा तेस्रो स्थान हासिल गर्यो । २०२४ फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा आयोजित एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोलीसँग ४ विकेटले स्तब्ध भएपछि नेपालको ९ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै रहने देखियो । मुखैमा आएको एसिया कप गुमाउनु पीडादायक थियो । तर एसीसीले प्रतियोगितमा सहभागी हुने टिमको संख्या ६ बाट ८ पुर्‍याएपछि नेपालले ९ वर्षपछि एसियाकप खेल्यो । यूएईलाई पराजित गरेको नेपालले भारत र पाकिस्तानलाई भने पछि पार्न सकेन ।

नेपालको महिला क्रिकेट टिमले अहिले मुख्य रूपमा टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेल्दै आएको छ । २०१८ मा आफ्नो पहिलो आधिकारिक टी-२० अन्तर्राष्ट्रिय खेलेको नेपालले ओडीआई भने खेलेको छैन ।

नेपालको महिला क्रिकेट टिममा समस्या र चुनौती पुरानै सुरुवात देखिनै एकनासका छन् । आधारभूत पूर्वाधारको अभाव, अभ्यासका लागि सीमित अवसर, राम्रो मैदान, प्रशिक्षक र उपकरणहरूको कमी तथा एक्सपोजरको न्यून अवसर नै अहिलेको टिमका चुनौती हुन् ।

वित्तीय स्रोत व्यवस्थापनमा भने क्यानले अहिले केही राम्रा प्रयास गरे पनि पर्याप्त हुन सकेको छैन । नेपालको महिला क्रिकेट टिमले कम समयमा ठूलो फड्को मारेको छ । यद्यपि अझै लामो यात्रा बाँकी छ । खेलाडीको परिश्रम र क्यानको सही योजना तथा दीर्घकालीन रणनीतिले नेपाललाई भविष्यमा एक बलियो महिला क्रिकेट राष्ट्रको रूपमा स्थापित गर्न सक्छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement