काठमाडौं । नेपालको पर्यटन विकासका प्रमुख आधार हुन् नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरण । तर यी दुवै निकाय आफ्नो जिम्मेवारी निर्वाहमै चुकेका छन् ।
पर्यटन बोर्डले प्रभावकारी रूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्न सकेको छैन भने नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय जगत्लाई नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सकेको छैन । जसको असर नेपाल पर्यटन क्षेत्रमा पर्दै आएको छ ।
नेपाल पर्यटन बोर्डको मुख्य दायित्व हो नेपालका पर्यटकीय गन्तव्यको देश/विदेशमा प्रचारप्रसार गर्ने । नेपाली हवाई क्षेत्रको नियमन मार्फत नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश पर्यटकलाई दिने काम नागरिक उड्डयन प्राधिकरणको हो । मंगलबार यी दुवै निकायले आफ्नो २६औं वाषिर्कोत्सव मनाएका छन् । यो साढे दुई दशकको अवधिमा यी निकायले निर्वाह गरेको भूमिकालाई पर्यटन व्यवसायीले कसरी हेरेका छन् त ?
“हाम्रो अपेक्षा अनुसारको टुरिजम अराइभल हामीले गर्न सकेका छैनौं । पूर्वाधारको निर्माण नागरिक उड्डयनले गरिरहेको छ तर त्यसपछिको कार्यसञ्चालनमा भने कमजोरी भएको महसूस भएको छ”, नेपाल एसोशिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले बताउनुभयो ।
पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड ऐन २०५३ अनुसार सार्वजनिक निजी साझेदारीमा स्थापना भएको निकाय हो । नेपालको एक मात्र पीपीपी मोडेलमा स्थापना भएको यो संस्थाले सुरूआती दिनमा उत्कृष्ट काम गरेको थियो । तर, पछिल्लो समय सञ्चालक समितिदेखि प्रमुख कार्यकारी अधिकृतसम्मका पदाधिकारी नियुक्तिमा मन्त्रालयको हस्तक्षेप र राजनीतिक भागबन्डा हाबी हुँदा खारेजीको बहस समेत चलेको थियो । प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएको ६ महिनापछि नियुक्त भएका नयाँ सीईओलाई बजेट पास गर्नै ६ महिना लाग्यो ।
“विभिन्न कारणले एग्रेसिभ मार्केटिङ गर्न सकेनौं । त्यो सकेको भए गत वर्ष नै हामी पुनर्उत्थान भइसक्थ्यौं । विगतको अनुभवलाई हेर्दै यस वर्षको बजेटमा केही प्राथमिकता राखेका छौं”, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
हरेक सरकारले पर्यटनबाटै आर्थिक समृद्धि भने पनि त्यसलाई व्यवहारमा उतार्न सकेका छैनन् । दुई वर्षअघि नेपाल भ्रमण दशक २०२३-२०३३ घोषणा गरिएको थियो । त्यसलाई कार्यान्वयन नगर्दै पुनः २०२५ देखि २०३५ लाई भ्रमण दशक घोषणा गर्ने तयारी भइरहेको छ ।
“हामीले २५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउने तयारी गरेका छौं”, कार्ययोजना नबनेका कारण पहिलेको योजना अघि नबढेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अन्तर्गत स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि नेपाली आकाश सुरक्षित भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनै सकेको छैन । यसले उड्डयन क्षेत्रलाई नियमन गर्न नसकेको भन्दै ६ वर्षदेखि सेवा प्रदायक र नियामक अलग गर्ने भनिए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।
देशभर अहिले ५५ वटा विमानस्थल रहे पनि नियमित उडान हुने ३५ वटा मात्रै छन् । पर्यटक र दुर्गमका जनतालाई सेवा दिने जहाजको संख्या दिनप्रतिदिन घट्दै गएको छ । जसको असर पर्यटन क्षेत्रमा पर्न थालेको छ ।