अयोध्या पुगेर फर्कियो नेपालको दुर्लभ सेतो गिद्ध

पुस १९, २०८१ |मनोज पौडेल
अयोध्या पुगेर फर्कियो नेपालको दुर्लभ सेतो गिद्ध

कपिलवस्तु । हजारौं नेपाली बर्सेनि भारतस्थित रामभूमि अयोध्या तीर्थ गर्न जान्छन् । जुन स्वाभाविक लाग्छ । तर एउटा नेपाली गिद्ध अयोध्या पुगेर फर्किएको छ । विश्वमै दुर्लभ सेतो गिद्ध पोखराबाट आहाराको खोजीमा अयोध्या पुगेर फेरि पोखरा नै फर्किएको हो ।

गिद्धविज्ञ कृष्णप्रसाद भुसालले नेपालका सेतो गिद्धबारे अनुसन्धान गर्न ५ वटामा स्याटेलाइट ट्याग लगाउनुभयो । पोखराको लामीआहाल र दोबिल्ला डम्पिङ साइटमा गत सेप्टेम्बरमा ३ वयस्क, एक अल्पवयस्क र एक बच्चा गिद्धलाई ट्याग लगाइएको थियो । 

यीमध्ये एउटा वयस्क गिद्ध पोखराबाट करिब दुई सय ५० किलोमिट दक्षिणपश्चिम उडेर अयोध्या पुगेको हो । यो गिद्ध पहिलो दिन अक्टोबर ३० मा पोखराबाट रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्ट पुग्यो । 

अर्को दिन लुम्बिनी आसापास पुगेर बस्यो । तेस्रो दिन भारतको बलरामपुर नजिक गाईगोरुको सिनो प्रसस्त भएको ठाउँ पुगेर ५ दिन बस्यो । त्यसपछि अयोध्याको घाँघरा आसपास ३ दिन बस्यो । 

फर्किने क्रममा बिहानै उडेको गिद्ध पहिलो दिन कपिलवस्तुको राजापानी सामुदायिक वनमा बास बस्यो । अर्को दिन स्याङ्जाको पुतलीबजार आइपुग्यो । तेस्रो दिन पोखरा पुग्यो । 

अरु ४ वटा गिद्ध भने तनहुँ आसपास आउनेजाने गरिरहेका छन् । गिद्ध आहाराका लागि कति परसम्म पुग्छ ? कस्तो ठाउँमा प्रजनन् गर्छ ? बसाइँसराइ गर्छ कि गर्दैन् भन्ने पत्ता लगाउन स्याटेलाइट लगाइएको हो ।

झन्डै दुई लाख पर्ने स्याटेलाइट ट्याग ३० ग्रामको हुन्छ । लेग लुप हार्नेस विधिबाट ढाडमा लगाइन्छ । स्याटेलाइट सम्पर्कबाट दुई-दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर, कति उचाइामा प्रति घण्टा कुन गतिमा पन्छी उडिरहेको छ ? यसले सबै तथ्यांक दिन्छ । ब्याट्रीले काम गरे नगरेको जानकारी पनि दिन्छ । ३ देखि ५ वर्ष टिक्ने स्याटेलाइटको ब्याट्री घामले आफै चार्ज हुन्छ । 

गिद्धको प्रजनन् याम आउँदैछ । यो बेला नयाँ कुरा थाहा पाउन सकिने संरक्षणकर्मी बताउँछन् । यो गिद्धले माघमा गुँड बनाउँछ । फागुन-चैतमा ओथारो बसेर असारसम्म बचेरा उडाउँछ । एकपटकमा एउटा मात्रै बच्चा कोरल्छ । 

नेपालमा सेतो गिद्ध ३ सयदेखि एक हजारसम्म रहेको अनुमान छ । यसमध्ये आधा पोखरा उपत्यकामा छन् । यसअघि पनि आहारा र जोडी खोज्दै नवलपरासीको पिठौलीबाट डंगर गिद्ध ११ सय किलामिटर यात्रा तय गरी भारतको हिमाञ्चल प्रदेश हुँदै पाकिस्तान पुगेको थियो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement