झापा । बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि पक्राउ परेको २६ दिनपछि आज सरकारी वकिल कार्यालय झापाले शिवाकोटीविरुद्ध मुद्दा दर्ता गरेको हो । भोलि शनिबार परेकाले पर्सि अदालतमा आरोपितको बयान हुनेछ । बयान सकिपछि थुनछेकको बहस हुने झापा जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेदेखि नै उपचारको बहानामा शिवाकोटी बिर्तामोडको बी एण्ड सी अस्पतालमा छन् । प्रहरीले उनीसँग अस्पतालमै बयान लिएर रायसहितको प्रतिवेदन बुझाएको हो । पूर्वी सीमानाका काँकडभिट्टाबाट उद्धार गरिएकी बालिकाको बयानका आधारमा प्रहरीले सिवाकोटीलाई गत मंसिरमा पक्राउ गरेको थियो ।
चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने संस्थाले सीमा नाकामा केरकार गरेपछि पीडित बालिकाले शिवाकोटीको घरमा बस्ने गरेको र उनले पटकपटक जबरजस्ती करणी गरेपछि भागेर हिँडेको बयान दिएकी थिइन् । त्यसपछि इलाक प्रहरी कार्यालय अनारमनीले सिवाकोटीलाई पक्राउ गरेको थियो ।