सन् २०२४ को बिदाइ, किरिबास बन्यो नयाँ वर्षलाई स्वागत गर्ने पहिलो देश

पुस १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सन् २०२४ को बिदाइ, किरिबास बन्यो नयाँ वर्षलाई स्वागत गर्ने पहिलो देश

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ को बिदाइ गरिएको छ । नेपाल लगायतका विश्वका थुप्रै देशले राति १२ बजे २०२४ को बिदाइ र नयाँ वर्ष २०२५ को स्वागतको तयारी गरिरहँदा केही देशले भने २०२५ लाई आफ्नो आँगनमा भित्र्याइसकेका थिए ।

प्रशान्त महासागरस्थित टापु देश किरिबास नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने विश्वकै पहिलो देश बनेको छ । किरिबासपछि न्युजिल्यान्डले पनि नयाँ वर्षलाई स्वागत गरिसकिएको छ । न्युजिल्यान्डको उत्तरी टापुस्थित अकल्यान्डमा भव्य आतसबाजी गरेर नयाँ वर्ष २०२५ को स्वागत गरिएको छ । यस्तै अस्ट्रेलियाको सिड्नीमा पनि भव्य आतसबाजीका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

जापान र दक्षिण कोरियाले पनि नयाँ वर्षको स्वागत गरिसकेका छन् । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement