गुणस्तरीय बीउ र प्रविधि हस्तान्तरणले तोरी खेती गर्ने किसान दंग

पुस १०, २०८१ |भुवन पाण्डे
गुणस्तरीय बीउ र प्रविधि हस्तान्तरणले तोरी खेती गर्ने किसान दंग

रूपन्देही । ‘किसानको हात प्रदेशको साथ’ भन्ने नारा सहित लुम्बिनी प्रदेश सरकारले तोरी बाली विस्तार कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण यो वर्ष थप ३२४ हेक्टर क्षेत्रफलमा तोरीखेती विस्तार भएको छ ।

प्रदेशलाई तेलहन बालीमा आत्मनिर्भर बनाउने तथा मह उत्पादनमा समेत टेवा पुग्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरेको हो । यति वेला पश्चिम तराईका फाँटहरू तोरी फुलेर पहेंलपुर छन् । ढकमक्क तोरी फुलेको दृश्य निकै मनमोहक छ ।

पछिल्लो समय तोरी खेतीसँगै उत्पादन पनि घट्दो क्रममा भए पनि लुम्बिनी प्रदेश सरकारले ‘किसानको हात प्रदेशको साथ’ भन्ने नारालाई आत्मसात गर्दै तोरी बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम लागू गरेपछि उत्पादन क्षेत्र बढेको छ ।

तोरीका लागि हलुका बलौटे, दोमट र चिम्टाइलो माटो उपयुक्त हुन्छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रहरूले उपयुक्त क्षेत्र छनोट गरी किसानलाई उन्नत जातको बीउ र प्राविधिक सरसल्लाह दिएका छन् । अनुदानमा पाएको गुणस्तरीय बीउ र प्रविधि हस्तान्तरणले तोरी राम्रो भएकाले किसान दंग छन् ।

प्रदेशको रूपन्देही, दाङ र बर्दियामा तोरी बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम लागू भएको छ । जसमा यो वर्ष रूपन्देहीमा १२४ हेक्टर, बर्दियामा ११० हेक्टर र दाङमा ९० हेक्टर तोरी बाली विस्तार भएको छ । उन्नत बीउ वितरणले उत्पादनसँगै उत्पादकत्व बढाएर प्रदेशलाई तोरीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

लुम्बिनी प्रदेशमा ५० हजार सात सय ३४ हेक्टरमा तोरी खेती हुन्छ । जसबाट ५४ हजार ३४ मेट्रिक टन तेल उत्पादन हुन्छ । सबैभन्दा बढी तोरी खेती दाङ, बर्दिया र रूपन्देहीमा गरिन्छ भने सबैभन्दा कम रुकुमपूर्वमा हुन्छ । तोरीको क्षेत्र विस्तार भएपछि खेतबारीमा मौरी चराउने किसान समेत बढेका छन् । तोरीमा मौरी चराउँदा एकातिर गुणस्तरीय मह उत्पादनमा टेवा पुगेको छ भने अर्कातर्फ तोरीको उत्पादन बढाउन सहयोग भएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement