काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासले दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
लामिछानेकी पत्नी निकिता पौडेलले आज सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो । गत चैत २२ गते उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेकी पत्नी सर्वोच्चमा पुग्नुभएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको थियो ।