चीनले अमेरिकी सामान आयातमा लगायो १२५ प्रतिशतसम्म अतिरिक्त कर

बेइजिङ भन्छ- वाशिङ्टनको एकतर्फी र संरक्षणवादी नीतिको जवाफ
चैत्र २९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
चीनले अमेरिकी सामान आयातमा लगायो १२५ प्रतिशतसम्म अतिरिक्त कर

काठमाडौं । अमेरिका र चीनबीचको कर युद्धले तनावको स्थिति लिएको छ । चीनले अमेरिकासँग व्यापारिक तनाव बढाउँदै अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको अतिरिक्त कर लगाउने घोषणा गरेको छ। अमेरिकाले चीनका विभिन्न उत्पादनमा लगाएको करको प्रतिक्रियास्वरूप चीनको यस्तो निर्णय आएको हो ।

अमेरिकी सरकारले चीनका इलेक्ट्रिक कार, सोलर प्यानल, स्टील र सेमिकन्डक्टर जस्ता उत्पादनमा नयाँ कर लगाएपछि चीनले यो कदम लिएको हो । चीनले यसरी बढाएको कर विशेष गरी अमेरिकी कृषि उत्पादन, मदिरा र पेट्रोलियम पदार्थमा लागू हुने बताएको छ । विश्लेषकहरूका अनुसार, यसले अमेरिकी किसान र उद्योगहरूलाई ठूलो असर गर्ने देखिन्छ । 

चीनको वाणिज्य मन्त्रालयले यो नीतिलाई ‘अमेरिकाको एकतर्फी र संरक्षणवादी नीतिको जवाफ’ भनेको छ । यसअघि पनि दुई देशबीच व्यापार युद्ध चलेको थियो, जसले विश्व अर्थतन्त्रलाई असर पारेको थियो । 

अहिलेको नयाँ करले दुवै देशका उपभोक्ता र व्यापारीलाई नकारात्मक असर पार्ने आशंका छ । अमेरिकाले चीनको यो निर्णयलाई ‘अन्तर्राष्ट्रिय व्यापार नियम उल्लङ्घन’ भनी आलोचना गरेको छ । 

चीनले अमेरिकी कदमहरू विरुद्ध उभिन युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।