नवलपरासी । बिहीबार बिहान परेको पानीले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा १५ घण्टासम्म सवारीसाधनको जाम लागेको छ । जसका कारण यात्रुहरूले हैरानी खेप्नुपरेको छ ।
बिग्रिएका मालवाहक सवारीसाधन र चिप्लो सडकका कारण अवरुद्ध बनेको यातायात शुक्रबार दिउँसो तीन बजेपछि मात्रै एकतर्फी सञ्चालनमा आएको छ । जंगल क्षेत्रमा गाडीमा रात गुजार्नुपरेको दुखेसो यात्रुहरूले गरेका छन् । जाममा फसेका यात्रु खाना र पानीको खोजीमा बजार खोज्दै भौँतारिए ।
शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म सडक नै बन्द गरेर विस्तारको काम भयो । विस्तार भइरहेको यो खण्डमा चिप्लो सडकमा गिट्टी समेत नहाल्दा सवारी सञ्चालनमा असहज भएको छ । एककतर्फी खुले पनि पश्चिममा बर्दघाट र पूर्वमा अरुण खोलासम्म सवारीको लाम छ ।
दाउन्ने खण्डमा कहीँ पनि कालोपत्रे छैन । हिलाम्य धुलाम्य सडकका कारण समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।