काठमाडौं । गत साता काठमाडौंको कपनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पलाई सानो क्षतिको संज्ञा दिँदै अघिल्लो सरकारले भूकम्पपीडितको यकिन तथ्यांक नै संकलन नगरेको आरोप लगाउनुभयो । अघिल्लोपटक आफू नेतृत्वमा हुँदा ०७२ सालको भूकम्पका पीडितलाई साढे आठ लाख सुविधायुक्त घर निर्माण गरेको दाबी पनि उहाँले गर्नुभयो ।
कांग्रेस एमाले गठबन्धनको नेतृत्व गर्दै केपी ओली तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेको पनि पाँच महिना पूरा भइसकेको छ । तर जाजरकोट भूकम्पकापीडितको अझै टहराकै बास छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती सरकारले जाजरकोट भूकम्पका पीडितको पक्षमा काम गर्न नसकेको आरोप लगाइरहादा आफू सत्तामा आएपछि कति काम अघि बढाउनुभयो त भन्ने प्रश्न यहाँ महत्वपूर्ण छ । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटका अनुसार, हालसम्म ४८ हजार ५१६ लाभग्राहीमध्ये ४० हजार ५ सय ८ जनाले सम्बन्धित स्थानीय तहमा अस्थायी आवास निर्माणको सम्झौता गरेका छन् ।
तर, दोस्रो किस्ताका लागि भने ३७ हजार ६ सय ९१ जना मात्र योग्य ठहरिएका छन् । त्यसमध्ये १० हजार ४ सय ६७ जनाले मात्रै दोस्रो किस्ता पाएका छन् । यो तथ्यले ओली प्रधानमन्त्री बनिसकेपछि पनि जाजरकोट भूकम्पको पुननिर्माणमा सरकार गम्भीर छैन भन्ने प्रष्ट हुन्छ । जबकि भूकम्प गएकै पनि एक वर्ष नाघिसक्यो । दोस्रो किस्ता नपाउँदा ऋण काढेर बनाएको अस्थायी आवासको पैसा तिर्न नसकेर समस्या भएको पीडित बताउँछन् । मध्य जाडोमा पीडितहरुलाई टहराको बास छ ।
गत वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका गरी १ सय ५७ जनाको ज्यान लियो भने झन्डै ४ सय जना घाइते भएका थिए । सरकारले भूकम्पबाट घरबासविहीन भएका पीडितलाई अस्थायी आवास बनाउन दुई किस्ता गरेर ५० हजार रुपैयाँ दिने घोषणा गर्यो । एक वर्षसम्म पनि अस्थायी आवासमै अलमलिएको सरकारले स्थायी संरचना पुर्ननिर्माणको योजना कहिले बनाउला ?