काठमाडौं । ठूला माछा समात्न नसकेको र खुद्रे मुद्दामै अल्झेको भनेर आलोचना खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान पद्दति समेत कमजोर देखिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिले गरेको भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियारले गत आर्थिक वर्षमा विशेष अदालतमा दायर गरेका मुद्दामा दुई तिहाइभन्दा बढीमा दाबी पुर्याउन नसक्नु त्यसैको परिणाम हो । ५ सय ६ वटा मुद्दाको फैसला हुँदा १ सय ५९ वटामा मात्र अख्तियारको माग दाबी पुगेको छ । आफूले दायर गरेका अधिकांश मुद्दाको दाबी नै नपुगेपछि रन्थनिएको अख्तियारले अहिले त मुद्दा नै कम दर्ता गर्न थालेको छ ।
साउनदेखि यताको साढे चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ वटा मुद्दा मात्र विशेष अदालतमा दर्ता गराएको छ । जबकी गत आर्थिक वर्षको यहि अवधिमा ७४ वटा मुद्दा दर्ता विशेष अदालतमा गराएको थियो ।
एकपछि अर्को गर्दै आफ्ना मुद्दामा दाबी नपुगेर पछि हटिरहेको अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नै कम गरेको हो । गत आर्थिक वर्षमा अख्तियारले दायर गरेका ५ सय ६ वटा मुद्दाको फैसला गर्दा ३ सय ४७ मा अख्तियारको माग दाबी पुगेन । १ सय ४ मुद्दामा अख्तियारको दाबी आंशिक मात्रै ठहर भयो भने २ सय ४३ मुद्दाका अभियुक्तले सफाइ पाए । १ सय ५९ वटामा मात्रै माग दाबी पुगेको थियो । गत आर्थिक वर्षमा अख्तियारले २ सय १ मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । विशेषबाट फैसला भएका मध्ये ९२ वटामा फैसला चित्त नबुझाएर उसले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो । चालु आर्थिक वर्षका चार महिनामै अख्तियारले एक सय १५ वटा मुद्दा पुनरावेदनमा लगेको छ ।
लामो अनुसन्धानपछि दर्ता गराएका अधिकांश मुद्दामा असफलता हात परेपछि रन्थनिएको अख्तियारले चालु आर्थिक वर्षमा त मुद्दा दर्ता नै कम गरिरहेको छ । अख्तियारले अभियुक्त देखेकाहरु किन विशेष अदालतबाट धमाधम उन्मुक्ति पाइरहेका छन् त ?
अनुसन्धान नै कमजोर भएको त होइन भन्ने प्रश्न उठे पनि अख्तियार भने यो आरोप स्वीकार गर्न तयार छैन । अख्तियारको माग दाबीअनुसारको फैसला नआउनुमा प्रमाण नै प्रमुख समस्या रहेको विशेष अदालतको तर्क रहे पनि अख्तियार चाहीँ अनुसन्धान पद्दति र न्याय निरुपण प्रकृया नै फरक हुने भन्दै कमजोरी लुकाउन खोज्छ ।
कुनै पनि विषयमा अभियोग लगाउँदा पर्याप्त प्रमाण पुर्याउनुपर्ने न्यायिक सिद्दान्त नै हो । तर विशेष अदालतबाट भएका फैसलामा आफ्नो दाबी नपुग्ने ठहर हुँदा चित्त नबुझाएको अख्तियारले धमाधम सर्वोच्चमा पुनरावेदन गरिरहेको छ । अनुसन्धानलाई प्रभावकारी बनाउने र ठोस प्रमाण संकलन गरेर नयाँ मुद्दा दर्ता गर्नेतर्फ उसले ध्यान दिएको छैन । त्यसो त राजनीतिक प्रभावमा परेर अख्तियारले नै कतिपय मुद्दा नै कमजोर बनाउने र कुनै फाइल नै थन्क्याउने गरेको पनि आरोपसमेत खेप्नुपरेको छ ।
ठूला भ्रष्टाचारका मुद्दामा छानबिन नै नगर्ने र सानातिना विषयमा केन्द्रित हुने गरेको आरोप अख्तियारमाथि लाग्दै आएको छ । अहिले पनि ठूला भ्रष्टाचारका थुप्रै फाइल तामेलीमा छन् भने कतिपयमा सर्वत्र प्रश्न उठ्दा पनि अख्तियार मौन देखिन्छ । एकपछि अर्को आरोप खेप्दै आएको अख्तियारले दायर गरेका मुद्दामा पनि ३१ दशमलव ४ प्रतिशत मात्रै सफलता हासिल हुनुले पदाधिकारीको क्षमतामाथि समेत प्रश्न उठेको छ ।