काठमाडौं । बंगलादेशले भारत निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न नयाँ दिल्लीलाई लिखित आग्रह गरेको छ ।
बंगलादेशको अन्तरिम सरकारले भारतिय विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाउँदै ७७ वर्षीया हसिनालाई ढाका फिर्ता पठाउन औपचारिक आग्रह गरेको हो । सोमबार अन्तरिम सरकारका विदेशमामिला सल्लाहकार मोहम्मद तौहिद हुसैनले न्यायिक प्रक्रियाकालागि हसिनालाई बंगलादेश फिर्ता पठाउन कुटनीतिक नोट मार्फत भारतलाई आग्रह गरिएको जानकारी दिनुभएको हो । यसको केही घण्टाअघि अन्तरिम सरकारका आन्तरिक मामिला सल्लाहकार मोहम्मद जहांगिर आलम चौधरीले हसिनालाई देश फिर्ता ल्याउने पहल गर्न आग्रह गर्दै आफनो देशको विदेशमन्त्रालयलाई पत्र पठाएको जानकारी दिनुभएको थियो ।
मन्त्रि चौधरीले बंगलादेश र भारतबीच सुपुर्दगी सन्धी रहेकाले सोको प्रावधान अन्तर्गत हसिनालाई फिर्ता ल्याउन सकिने बताउनु भएको थियो । स्मरणिय छ दुई साताअघि मात्रै भारतिय विदेशसचिव विक्रम मिश्रीले बंगलादेशको भ्रमणगरी अन्तरिम सरकार प्रमुख मोहम्मद यूनसकासाथै विदेशमन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग भेट गर्नुभएको थियो । त्यतिखेर युनुसको सचिवालयले एक विज्ञप्ती जारी गर्दै भारतिय विदेश सचिसँगको भेटमा हसिनाको भारत बसाइका सम्बन्धमा पनि छलफल भएको जनाएको थियो ।
विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि तत्कालिन प्रधानमन्त्री हसिना यसैवर्षको अगष्ट ५ मा बंगलादेशबाट भागेर भारत पुग्नु भएको थियो । त्यसयता उहाँ भारतमा निर्वासित जिवन बिताइरहनु भएकोछ । हसिनाको पलायनसँगै १६ वर्ष लामो उहाको सत्ता पनि ढलेको थियो । ढाकास्थित अन्तरराष्ट्रिय फौजदारी न्यायाधिकरण आइसीटीले मानवताविरुद्धको अपराध र नरसंहार गरेको अभियोगमा हसिना विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेकोछ भने द हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत आइसीसीमा पनि यस सम्बन्धी मुद्दा विचाराधिन रहेकोछ । यसका अतिरिक्त हसिना र उहाँका छोराविरुद्ध करोडौं डलरको सम्पत्ति शुद्धिकरण र थुप्रै परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान भैरहेका छन् ।