काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेट र खेल जगतका लागि कोशेढुंगा स्थापित हुने बताउनुभएको छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै खड्काले अबको केही वर्षमा नेपाली क्रिकेट विश्वकै ठूलो खेल उद्योगको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । ‘एनपीएललाई स्थापित गर्यौं भने तेस्रो-चौथो वर्षसम्म पुग्दा ठूलो बजेट जम्मा हुन्छ, त्यो पैसा हाम्रो क्रिकेटको व्यवस्थापन, क्रिकेटको पोलिसी, क्रिकेटको गभर्नेन्समा लगानी गर्यौं भने अबको ६ वर्ष पछि हामी शक्तिशाली क्रिकेट राष्ट्र हुनेछौं । त्यसपछि हामी आईसीसी र एसीसीको पैसामा भर पर्नु पर्ने छैन,’ उहाँले भन्नुभयो ।
खड्काले अब सरकारले पूर्वाधार निर्माणमा विशेष जोड दिँदै खेल गतिविधिका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । एनपीएलको सफलता कुनै पार्टी वा समूहको जीत नभई समग्र क्रिकेटकै जीत भएको उल्लेख गर्दै उहाँले क्यानलाई राजनीतिक हस्तक्षेप र राजनीतिक विभाजनबाट जोगाउनु आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले क्यान कुनै पनि राजनीतिक दलको भातृ संगठन नभएको भन्दै यो कुरा क्यानका सबै पदाधिकारीले आत्मसात गर्नुपर्ने बताउनु भयो । ‘अहिलेको हाम्रो योजना भनेको क्यानलाई कसरी बलियो बनाउने भन्ने छ । हामीलाई खेलभन्दा अन्य कुरामा धेरै सोच्नुपर्ने अवस्था आयो भने राम्रो हुँदैन । क्यान कुनै पनि राजनीतिक दलको भातृ संगठन होइन् । यो कुरालाई केन्द्र देखि जिल्लासम्मका सबै पदाधिकारीले सोच्नुपर्छ,‘ खड्काले भन्नुभयो ।
साथै उहाँले एनपीएलमा विदेशी खेलाडीहरुको सहभागिता र क्रिकेट लेजेन्ड ब्रायन लारासम्मको उपस्थितिले क्यानको ब्रान्डिङ्मा सहयोग पुगेको बताउँदै लाराले नेपाली क्रिकेटसँग जोडिएर काम गर्ने इच्छा व्यक्त गरेको जानकारी समेत दिनुभयो । खड्काले भन्नुभयो- ‘ब्रायन लाराले म नेपाली क्रिकेटसँग लामो समयका लागि जोडिन चाहन्छु । म सँग समय भएको कुनैपनि बेलामा क्रिकेट टिमसँग आएर काम गर्ने सोचेको छु । यो कुरा उहाँ आफैले भन्नुभएको हो ।’
खड्काले एनपीएलको सफलताको श्रेय क्यानको नेतृत्वदेखि दर्शकसम्मलाई दिनुभयो । कार्यक्रम फायरसाइडमा एनपीएलको सफलताको जगदेखि यसले नेपाली खेलकूदलाई देखाएको भविष्यको बाटोसम्मका विषयमा पारस खड्काले खुलेर कुराकानी गर्नुभएको छ। कार्यक्रम आज राति ९ बजे प्रसारण हुनेछ। साथै कान्तिपुर टेलिभिजको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।