सुक्खा पहिरोले तिङ्लाको सिंगो बस्ती जोखिममा

मंसिर २३, २०८१ |भानुभक्त निरौला
सुक्खा पहिरोले तिङ्लाको सिंगो बस्ती जोखिममा

सोलुखुम्बु । हिउँदमा गएको सुक्खा पहिरोले सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाको एउटा बस्ती नै जोखिममा परेको छ । एक सातायता सोलु खोलामाथि सारेलोक चौरमा लगातार पहिरो जाँदा दुई सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने सिंगो बस्तीका एक सय घरपरिवार त्रासमा छन् ।

सोलु खोलामाथि रहेको तिङ्लामा करिब एक किलोमिटर जमिन नै पहिरोले बगाउँदा मानव बस्तीमा जोखिम बढेको हो । स्थानीयले धान रोप्दै आएको खेत बगाउँदा आधा दर्जन घरपरिवार जमिनविहीन हुन पुगेका छन् । ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाले सुरुङ खन्दा निस्किएको माटो भण्डारण गरेको क्षेत्रमा पहिरो गएको हो । तर जलविद्युत् आयोजनाकै कारण पहिरो गएको हो या अन्य कुनै कारण भन्ने कुरा यकिन हुन सकेको छैन ।

पहिरो नजिकैको क्षेत्रबाट उक्त जलविद्युत् आयोजनाको सुरुङ मार्ग रहेको छ । पहिरो गएपछि तिङ्ला क्षेत्रका नागरिकहरू पाँच दिनयता ढुक्कले सुत्न समेत सकेका छैनन् । सुक्खा पहिरोले गरिखाने जमिन नै सखाप पारेपछि तनाव पनि बढेको छ ।

तिङला क्षेत्रमा विसं २०४८ सालमा एक पटक पहिरो गएयता कुनै बाढी पहिरो नगएको स्थानीय बताउँछन् । गत असोज १२ गते आएको बाढीका कारण सोलु खोलाको बहाब परिवर्तन भएकाले पहिरो गएको हुन सक्ने आकलन पनि स्थानीयको छ । मंसिर ५ गतेबाट सुरू भएको पहिरो गाउँसम्म आइपुगेपछि स्थानीयको निद्रा हराएको छ । पहिरोले कम्तीमा एक सय घरपरिवार उच्च जोखिममा छन् ।

यता स्थानीय सरकार र संघीय सरकारले चाँडै भूगर्भविद्को टोली झिकाएर स्थलगत रूपमा जमिनको अध्ययन गर्ने भएको छ । भूगर्भविद् झिकाएर अध्ययनपछि बस्ती स्थानान्तरणबारे निचोडमा पुग्ने सरकारी अधिकारीको तयारी छ । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement