नन्दबहादुरलाई भित्र्याएर राजनीतिक शक्ति संचित गर्दै दाहाल, पार्टी भित्रै विरोध

माघ २३, २०८१ |विकास आचार्य
नन्दबहादुरलाई भित्र्याएर राजनीतिक शक्ति संचित गर्दै दाहाल, पार्टी भित्रै विरोध

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकुको डेपुटी कमान्डर रहेका नन्दबहादुर पुन शान्तिप्रक्रियापछि दुई कार्यकाल अर्थात् करिब आठ वर्ष मुलुकको उपराष्ट्रपति बन्नु भयो । उपराष्ट्रपति अर्थात् मुलुकै गरिमामय र सम्मानित पद । तर उहाँ पुन: नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्कनुभएको छ । माओवादी केन्द्रले उहाँलाई आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिएको छ । राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्ति पुन: पार्टी राजनीतिमा सक्रिय रहनुले कस्तो राजनीतिक सन्देश दिन्छ ? 

दुई कार्यकाल मुलुकको अभिभावक बनिसकेका व्यक्ति फेरि पार्टी राजनीतिमा फर्कँदा केही प्रश्नहरू उब्जिएका छन्- यसले उपराष्ट्रपतिको पदीय गरिमा कहाँ पुर्याउला ? अनि राज्यबाट पूर्व उपराष्ट्रपतिको हैसियतमा प्राप्त मान-सम्मान, सेवा सुविधा र सुरक्षाको स्थिति के होला ?

राजनीतिक शास्त्री चन्द्रदेव भट्ट भन्नुहुन्छ- ‘उहाँहरू म राजनीतिमा फर्किन्छु भनेको वडा सदस्य देखि प्रधानमन्त्रीसम्म बन्नमा दाबेदार हुँ भन्ने हो । नत्र किन फर्किने । कानुनी रुपमा समस्या छैन् भन्दैमा नैतिकता बिर्सिनु हुँदैन ।’

दुई कार्यकाल मुलुकको उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किनु भएपछि यो बहस अहिले सतहमा छ । माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै उहाँ पुन अब पार्टीका कार्यक्रमहरुमा सक्रिय हुनुहुनेछ । त्यसो त उपराष्ट्रपतिको कार्यालय छाडेको करिब डेढ वर्षपछि गत कात्तिकमा माओवादी केन्द्रको खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएर उहाँले सक्रिय राजनीति सुरु गरेको संदेश दिनु भएको थियो । तर, पार्टीले जिम्मेबारी दिएको थिएन ।

सोमबार भने पदाधिकारी बैठकले उहाँलाई आर्थिक तथा उत्पादन क्षेत्र हेर्ने महत्वपूर्ण विभागको जिम्मेवारी दियो । पुनकै लागि भनेर माओवादी केन्द्रले आर्थिक तथा उत्पादन विभाग थप गरेको छ । गत पुस २१ देखि २४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । तर पार्टीको यो निर्णय पार्टी भित्रै पनि सर्वसम्मत हुन सकिरहेको छैन ।

‘त्यो सम्मानित पद हो निर्विवाधित पद हो । उहाँहरुको विवेकमा भर पर्छ के गर्ने भन्ने । उहाँहरुलाई यो गर्नुस् यो नगर्नुस् भनेर भन्न सकिने अवस्था रहेन किनकी कानुनी रुपमा उहाँहरुलाई रोक्दैन,’ माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले भन्नुभयो ।

नन्दबहादुर पुन पदाधिकारीमा आउन चाहनुहुन्थ्यो । सोहीअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले उहाँलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी गर्नु भएको थियो । गत पुसमा बसेको केन्द्रीय समिति बैठकमा पनि उहाँ उपाध्यक्षकै हैसियतमा सहभागी हुनु भएको थियो । तर केही नेताहरुले बैठकमा पुनको उपस्थितिलाई लिएर बिरोध गरेपछि दाहालले पुनलाई राजनीतिमा फर्काउने आफ्नो चाहना नभएको बताउनु भएको थियो ।

‘सम्माननियलाई अझ सम्माननिय बनाउनु पर्छ । विवाद रहित बनाउँनु पर्छ । हामीसबैको मत यहि छ,’ नेकपा माओवादी केन्द्रका नेता सुदन किँरातीले भन्नुभयो ।

माओवादी केन्द्रका अधिकांश नेताहरु पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्काउने निर्णयको विपक्षमा छन् । तर नेताहरुका अनुसार यसमा अध्यक्ष दाहालकै चासो जोडिएको छ । उपमहासचिवद्वय जनार्दन शर्मा र बर्षमान पुन दाहाललाई नै चुनौती दिनेगरी फरक गुटको अभ्यासमा सक्रिय हुन थालेपछि आफ्नो शक्ति सन्तुलनका लागि पनि दाहालले नन्दबहादुर पुनलाई पार्टीमा भित्र्याउनु भएको बताइन्छ । अर्कोतर्फ पुनलाई भित्र्याएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एमाले फिर्ती सहज बनाउने उपाय खोजेको भन्ने तर्क गर्नेहरु पनि छन् । सशस्त्र द्वन्द्वका बेला अध्यक्ष दाहाल सुप्रिम कमान्डर र नन्दबहादुर पुन माओवादी लडाकुको डेपुटी कमान्डर हुनुहुन्थ्यो । अर्कोतीर भण्डारी पनि कास्कि हुँदै अहिले कोशी प्रदेशबाट आफूलाई राजनीतिसँग जोड्दै हुनुहुन्छ ।

पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरू पुन: कुनै दल विशेषमा सक्रिय हुने कुरा व्यक्तिको नैतिकता र जिम्मवारीबोधसँग जोडिने विषय हो । र सबै कुरा कानुनमै लखिनुपर्छ भन्ने पनि छैन किनकी कानुन भन्दा माथि नैतिकता पनि हुन्छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement