‘बीआरआई सहकार्य फ्रेमवर्क’मा कुन-कुन विषय समेटिए ?

मंसिर १९, २०८१ |दशरथ राई
‘बीआरआई सहकार्य फ्रेमवर्क’मा कुन-कुन विषय समेटिए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । यो फ्रेमवर्कमा नेपालले प्रस्ताव गरेका १० वटा परियोजना परेका छन् । ती परियोजनामा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा स्पोर्टस एण्ड एथलेटिक्स कम्प्लेक्स निर्माण गर्नेदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेधुरामा अमरगढी सिटी हल निर्माण गर्नेसम्मका छन् ।

बीआरआई सहकार्य फ्रेमवर्कमा सन् २०१७ मै दुईपक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको टोखा-छहरे सुरुङमार्ग निर्माण गर्ने विषयले पहिलो प्राथमिकता पाएको छ भने हिल्सा-सिमकोट सडक परियोजनाले दोस्रो स्थान पाएको छ । त्यसैगरी संखुवासभाको किमाथांका-खाँदबारी सडक र पुल निर्माण गर्ने विषय पनि यो फ्रेमवर्कमा परेको छ ।

बहुप्रतिक्षीत परियोजना जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग चौथो प्राथमिकतामा परेको छ । सत्ता गठबन्धन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल निर्माण गर्ने विषय पाँचौं नम्बरमा परेको छ ।

बीआरआई फ्रेमवर्कअन्तर्गत नेपाल र चीनबीच भएको सहमतिको छैठौं नम्बरमा जिलोङ-केरुङ-रसुवागढी चिलिमे २ सय २० केभी सीमापार प्रसारण लाइन परेको छ। एमालेका पूर्वमहासचिवको नाममा खोलिएको मदन भण्डारी विश्वविद्यालयलाई सातौं नम्बरमा राखिएको छ । त्यसैगरी ८औं नम्बर काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम परेको छ भने नवौं सहमतिमा प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको दमकमा चीन-नेपाल औद्योगिक मित्रपार्क निर्माण परियोजना छ । 

१०औं परियोजनाका रुपमा भने प्रधानमन्त्रीको गृहजिल्लामा झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अमरगढी सिटी हल निर्माण परेको छ । बीआरआई फ्रेमवर्कअन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति भए पनि ऋण वा अनुदान भन्ने चाँही खुलेको छैन ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।