काठमाडौं । भोटेकोशी विपत्तिले नुवाकोट, रसुवा र धादिङमा ठूलो जनधनसँगै सयौं साना व्यवसाय पनि बगाएको छ । घरबार र व्यवसाय दुवै गुमाएका महिला उद्यमीहरू कहिलेसम्म राहतको भरमा बस्ने ?
उनीहरू सुरक्षित ठाउँ, पुनःलगानी र व्यवसाय सञ्चालनको अवसर पाए फेरि आफ्नै खुट्टामा उभिन चाहन्छन् ।
विदुर नगरपालिका–धोबी खोला किनारमा २२ वर्षदेखि ‘जस्मिना मादल पसल’ चलाउँदै आएकी जानुका मिजारको व्यवसाय बाढीसँगै बग्यो । दुई दशकअघि सानो कोठाबाट सुरु गरेको मादल व्यवसाय नै उनको परिवारको मुख्य आम्दानीको स्रोत थियो ।
काठमाडौं, पोखरा हुँदै विदेशसम्म पुग्ने मादल बनाउने उनको व्यवसायमा बाढी आउनुअघि काठमाडौं पठाउन तयार पारिएका ६२ वटा मादलसमेत थिए । तर, एकैछिनको भेलले पसलसहितको घर र वर्षौं लगाएर जोडेको सम्पत्ति बगायो ।
मादल बनाउन प्रयोग हुने काठ, छाला, रङलगायत सबै सामग्री नष्ट भए । जानुकाका अनुसार उनको १० देखि १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । नुवाकोटमा दुई हजारभन्दा बढी साना व्यापारी, पसल तथा घरेलु व्यवसायी बाढीबाट प्रभावित भएको प्रारम्भिक अनुमान छ ।
तर, दर्ता नभएका वा भाडाको सटरमा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका धेरै व्यवसायी सरकारी तथ्यांकमै समेटिएका छैनन् । रसुवामा पनि गोसाइँकुण्ड र उत्तरगया क्षेत्रमा पर्यटन, कृषि तथा निर्माणसँग सम्बन्धित करिब तीन सय साना उद्योग प्रभावित भएका छन् ।
धादिङमा गल्छी, गजुरी, बेनिघाट र सिद्धलेक क्षेत्रमा मात्रै करिब एक सय ६० व्यवसायमा प्रत्यक्ष असर परेको प्रारम्भिक विवरण छ । बाढीले व्यवसायसँगै परिवारको आयस्रोत गुमाएका महिला व्यवसायीको अवस्था अझ कठिन छ । रसुवाकी पेम्बा छेदेन तामाङ सात महिनाकी गर्भवती अवस्थामा अस्थायी शिविरमा छिन् ।
उनले सञ्चालन गर्दै आएको खाजा घर बाढीमा गुमेको छ भने उनका श्रीमानसहित परिवारका सदस्य अझै सम्पर्कविहीन छन् । त्यस्तै, नुवाकोटकी प्रेमगीता थारूको मोटर पार्ट्स तथा ग्यारेज व्यवसाय पनि बाढीमा क्षतिग्रस्त भएको छ । श्रीमानको निधनपछि एक्लै व्यवसाय सम्हाल्दै आएकी उनी अहिले फेरि व्यवसाय सञ्चालन गर्ने बाटो खोजिरहेकी छन् ।
देवीघाटका सानु नेपाली कोइराला र रेनुका नेपालीले पनि व्यवसायसँगै घर गुमाएका छन् । फलफूलको गाढा, कस्मेटिक तथा टेलरिङ व्यवसाय बगेपछि उनीहरू अहिले अस्थायी शिविरमा छन् । विदुरकी नाङताङ ग्याल्मो तामाङ र उनकी छोरी रञ्जुको दुई वटा पसल बाढीले बगाउँदा करिब ८० देखि ९० लाख रुपैयाँको क्षति भएको छ ।
परिवारको मुख्य आयस्रोत गुमेको र परिवारका सदस्यसमेत बेपत्ता रहेको अवस्थामा उनीहरू पुनः सानो व्यवसाय सुरु गर्ने तयारीमा छन् । सरकारले स्थायी आवास गुमाएका बाढीपीडितलाई घरभाडाका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।
तर, व्यवसाय सञ्चालनका लागि सटर वा कोठा भाडामा लिएका पीडितलाई कसरी सहयोग गर्ने भन्ने विषय अझै स्पष्ट छैन । महिला उद्यमीको पुनःस्थापनाका लागि प्रभावित व्यवसायीको छुट्टै तथ्यांक संकलन, साना अनुदान र पुनःलगानीको अवसर आवश्यक रहेको उद्यमीहरूको भनाइ छ ।
सरकारले भने तत्काल उद्धार, राहत र मनोसामाजिक परामर्शमा केन्द्रित रहे पनि त्यसपछि साना उद्यमशीलता र महिला सशक्तिकरणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
नुवाकोटबाट सजना बराल, आर्या चन्द र पंकज श्रेष्ठको रिपोर्ट ।