मुगुको लिब्रु गाउँमा सवारी चल्न थालेपछि स्थानीय खुशी

मंसिर १५, २०८१ |राजबहादुर शाही
मुगुको लिब्रु गाउँमा सवारी चल्न थालेपछि स्थानीय खुशी

मुगु । सोरु गाउँपालिका-४ लिब्रु गाउँकी गहुकला नेपाली आफ्नै गाउँमा पहिलो पटक जीप पुगेपछि खुशी हुनु भयो । सोही गाउँका रनवीर शाहीले पनि जीपको लस्कर देख्दा गाउँमा विकास आएको महसूस गर्नु भयो । यसअघि यस क्षेत्रका स्थानीय करिब तीन घन्टा उकालो हिँडेर सोरुकोट पुगेपछि मात्र जीप देख्न पाउँथे ।

सोरु गाउँपालिका र कर्णाली प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमको संयुक्त करिब दुई करोड रूपैयाँ लागतमा सोरुकोटबाट जडेपानी, मुसिनमेला हुँदै लिब्रु गाउँसम्म करिब १३ किमी सडक निर्माण गरेपछि लिब्रु गाउँमा जीप चल्न थालेको हो ।

गाउँमा मोटर बाटो पुगेपछि तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, रावलवाडा, खातीकुयानी, गिलीबिली, फोतु लगायत बस्तीका स्थानीयलाई सोरुकोट गाउँपालिका केन्द्र पुगेर सरकारी कामकाज गर्न, उपभोग्य वस्तु किनमेल गर्न सुविधा भएको छ ।

“वृद्धभत्ता झिक्न तीन घन्टा उकालो चढेर सोरुकोट बैंकमा पुग्ने गर्थ्यौं”, लिब्रु गाउँका भैरे कामीले भन्नु भयो, “अब वृद्धभत्ता झिक्न जीप चढेर सोरुकोट पुग्न पाइने भयो । ज्यालादारी काम गर्न भारत जाँदा मोटर देख्न पाइन्थ्यो, अब गाउँमै जीप पुगे शहरको विकास पनि गाउँमै पुगिसक्यो ।”

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले निर्माण कार्य सुरू गरेको दुई वर्षभित्रै गाउँमा जीप पुगेको बताउनु भयो । पाँच वर्षभित्र पालिकाका ५६ वटै बस्तीमा सडक निर्माण गरेर जीप पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको शाहीको भनाइ छ । गाउँमा सडक पुगेपछि स्थानीय उत्पादन केरा, बदाम, मास, रातो चामल बिक्री गर्न स्थानीयलाई सहज भएको छ ।

गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले भने सडक निर्माण भएसँगै लिब्रु गाउँवासीलाई अब उत्पादन वृद्धि गरी आयआर्जन गर्ने अवसर प्रदान भएको बताउनु भयो ।

जिल्ला सदरमुकाम गमगढीदेखि सोरुकोटसम्म भने ६ वर्षअघि नै सडक निर्माण भई सवारी चल्न थालेका थिए । सोरुकोट-लिब्रु सडकको बिहीबार पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले उद्घाटन गर्नु भएको थियो ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement