जुम्ला । कर्णाली प्रदेशको जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले विरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा गर्नु भएको हो ।
साक्षरता अभियान जिल्ला समन्वय समितिको आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेर जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशबहादुर मल्लका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।
जुम्लामा १५ देखि ६० वर्ष उमेर समूहको ७२ हजार तीन सय सय १९ जनसंख्यामध्ये ६९ हजार चार सय ७७ जनाभन्दा धरै नागरिक साक्षर रहेको तथ्यांकमा उल्लेख छ । जिल्लाका एक नगरपालिका सहित आठ वटै पालिका साक्षर पालिकाका रूपमा घोषणा भएपछि यही मंसिर ९ गते बसेको साक्षर अभियान जिल्ला समन्वय समिति जुम्लाको बैठकले जुम्लालाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।
प्रदेश सांसद शाहीले जिल्लालाई साक्षर घोषणा गरेर मात्र नभएर सबै जुम्लावासी शिक्षित बनाउनुपर्ने अभियानको समेत प्रारम्भ हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “जिल्ला साक्षर हुनु राम्रो विषय हो तर शिक्षित जिल्ला बनाउनुपर्ने आवश्यकता देखिएको छ । जसका लागि सबैको हातेमालो जरुरी छ ।”