महिला अन्डर–१९ विश्वकपका लागि पोखरा उपयुक्त नभएको आईसीसीको प्रष्टोक्ति

मंसिर १२, २०८१ |खेल ब्युरो
महिला अन्डर–१९ विश्वकपका लागि पोखरा उपयुक्त नभएको आईसीसीको प्रष्टोक्ति

काठमाडौं । नेपाल र बंगलादेशमा सन् २०२७ मा हुने महिला अन्डर–१९ टी-ट्वेन्टी विश्वकपको खेल मैदानको अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । आज काठमाडौं आइपुगेको टोलीले पोखरा पुगेर मैदानको निरीक्षण गरेको हो । तर नेपालले प्रस्ताव गरेको पोखराको मैदानमा अहिलेकै अवस्थामा विश्वकप खेलाउन नसकिने निष्कर्ष अध्ययन टोलीले निकालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रस्ताव गरेका पाँच मैदानमध्ये पोखराको खेलस्थलमा पहिलो तहको पूर्वाधार नै नभएको आईसीसीका प्रतिनिधिले बताएका छन् । पोखरामा विश्वकप खेलाउन थप पूर्वाधार बनाउनु पर्ने उनीहरूको सुझाव छ ।

दुई वर्षपछि हुने विश्वकपको लागि क्यानले पोखरासँगै भैरहवा, चितवनको गौतमबुद्ध, काठमाडौंको मूलपानी र त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता खेल गर्न आईसीसीलाई प्रस्ताव गरेको छ ।

विश्वकप आयोजना गर्न कम्तीमा दुई मैदान आवश्यक हुन्छ । त्रिवि र मूलपानी मैदानले भने अन्तर्राष्ट्रिय मान्यता पाइसकेका छन् । क्यानले विश्वकपका खेलहरूलाई राजधानी बाहिरका मैदानमा समेत लैजाने योजना अनुसार पोखरा प्रस्ताव गरेको थियो । तर पोखरामा विश्वस्तरीय पिच र आउटफिल्ड, पवेलियन, चेन्जिङ रूम, शौचालय, म्याच अफिसियल रूम र भीआईपी कक्ष जस्ता आधारभूत पूर्वाधार समेत छैनन्।

आईसीसीले तोकेको पूर्वाधार बनाउन सकेमा त्यस वेलाको मौसम र मैदान अनुसार पोखरा उपयुक्त भेन्यु हुनसक्छ । निरीक्षण टोलीले गण्डकी प्रदेशका सामाजिक विकास, यूवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापासँग पनि भेटेर मैदानको अवस्थाबारे अवगत गराएको छ । अध्ययन टोलीले पोखराको मैदानबारे आईसीसीलाई सुझाव प्रतिवेदन बुझाउने छ । आईसीसीका प्रतिनिधिले यसपालि चितवन र भैरहवाको मैदान अध्ययन भने गर्ने छैनन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार गौतमबुद्ध रंगशालामा बनेमा त्यहाँ खेल हुने उच्च सम्भावना छ । उपत्यका बाहिरका रंगशालामा आवश्यक पूर्वाधार नबनेमा त्रिवि र मूलपानी क्रिकेट मैदानमा सन् २०२७ को अन्डर-१९ महिला विश्वकप हुनेछ ।



Enter Kantipur TV HD
Advertisement