सुनसरी । सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासो सुन्नका लागि सुनसरीमा संयुक्त सीमा पैदल यात्रा सुरु भएको छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको सीमाक्षेत्रमा ६ दिने पैदल यात्रा थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजना तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयोजनमा मंगलबारदेखि सुरु भएको सीमा पैदल यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग अन्तरक्रिया गरिरहेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरी नाकाको अवस्था र सीमा स्तम्भको सुरक्षाबारे जानकारी साटासाट गर्ने पैदल यात्राको उद्देश्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनु भयो ।
अन्तर्क्रियामा सुरक्षा अधिकारीसँग सीमाबासीले सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या साझा गरेका छन् । सो क्रममा स्थानीयले सीमित स्रोत-साधनसहितको सुरक्षाकर्मीको उपस्थिति सीमा क्षेत्रमा अपर्याप्त रहेको बताएका छन् ।
खुला सीमाका कारण लुकीछुपी हुने लागुऔषध कारोबार, चोरी तस्करीमा कमी हुन नसक्ने उनीहरुको भनाइ थियो । पैदलयात्रा भाण्टाबारीस्थित कोशी किनारमा पुगेर टुङ्गिनेछ ।