सिरहा कारागार प्रकरण : छानबिन र कारबाही गर्न कारागार विभागको निर्देशन

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिरहा कारागार प्रकरण : छानबिन र कारबाही गर्न कारागार विभागको निर्देशन

सिरहा । कारागार व्यवस्थापन विभागले सिरहा कारागार प्रकरणको छानबिन तथा कारबाही गर्न जिल्लाका निकायलाई निर्देशन दिएको छ । 

विभागले शुक्रबार जिल्ला प्रशासन कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहालाई घटनाको छानबिन तथा कारबाही गर्न लिखित निर्देशन दिएको हो । कान्तिपुर टेलिभिजनमा समाचार आएपछि यसको छानबिन र यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन जिल्लाका दुवै कार्यालयलाई पत्राचार गरिएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जिल्ला प्रशासनलाई कारागारमा अनुगमन गरेर घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न भनिएको छ भने कारागार कार्यालयलाई भने घटनाबारे प्रतिवेदन पठाउन भनिएको छ । ‘तपाईंहरूको समाचार पछि हामी एक्सनमा गएका छौं,’ उहाँले भन्नुभयो, ‘यसमा संलग्नहरूलाई कारबाही हुन्छ ।’

सिरहा कारागार भित्रै कारागारका मूल नाइके विजय महतो र नाइके इन्द्रजित यादव मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना कान्तिपुर टीभीले प्रमाणसहित गत बुधबार समाचार प्रशारण तथा प्रकाशन गरेको थियो । यतिमात्र नभई उक्त कारागारमा पाँच गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने तथ्य पनि खुलासा गरिएको थियो ।

यस्तै, पैसा तिरेर कारागारका कैदीहरू बाहिर पनि निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट हुँदै आएको, चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाखबढी उठाउने गरेकोलगायतका विषय पनि समाचारमार्फत् सार्वजनिक भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement