बाढीपहिरोले क्षति पुर्‍याएको एक महिना बित्दासमेत पीडितले पाएनन् राहत

कार्तिक २०, २०८१ |पुजन धिताल
बाढीपहिरोले क्षति पुर्‍याएको एक महिना बित्दासमेत पीडितले पाएनन् राहत

काभ्रे । बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको एक महिना बित्दासमेत यकिन विवरण संकलन हुन नसकेपछि काभ्रेका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन् । स्थानीय तहले यकिन विवरण नपठाउँदा काभ्रेको पनौती १२ का बाढीपीडितले खाद्यान्न र अस्थायी बसोबासका लागि वितरण गर्ने भनिएको रकम समेत पाउन नसकेका हुन् ।

गत असोजमा आएको बाढीले काभ्रेको पनौती १२ को रोशी खोला नजिकैको बस्तीकी मनकुमारी तामाङको साढे २ तलाको घर ढल्यो । अहिले उहाँको ४ जनाको परिवार छिमेकीको टहरामा बसेर जीवन चलाउँदैछ ।

६३ वर्षीय शकर तामाङ पनि रोशीले घर बगाएको ठाउँमा ढुङ्गा फुटाउँदै गरेका भेटिए । घर, पशु चौपाया सबै गुमाएका शंकर अहिले ज्याला मजदुरी गरेर जीवन गुजार्नुपर्ने स्थितिमा पुग्नु भएको छ । घर बनाउन पैसा छैन । आम्दानीको स्रोत भैंसीसमेत बाढीले लगेकाले उहाँ थप समस्यामा हुनुहुन्छ । 

यति ठूलो क्षति हुँदासमेत राज्यले केही नहेरेको पीडितहरुको गुनासो छ । उनीहरुको सामूहिक माग छ-कम्तीमा बस्ने ठाउँको प्रबन्ध सरकारले गराइदेओस् । बाढीपहिरोमा परी काभ्रेमा ७८ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपता छन् ।

पीडितहरु बासको व्यवस्था र राहतका लागि अझै सरकारको बाटो हेरिरहेका छन् । तर, क्षतिको यकिन विवरण अझै संकलन हुन सकेको छैन, स्थानीय तह अझै तथ्यांक संकलनकै चरणमा छन् । जसका कारण तत्काल खाद्यान्न र अस्थायी बसोबासको प्रबन्धका लागि वितरण गर्ने भनिएको रकमसमेत पीडितले पाउन सकेका छैनन् । 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement