काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय मूल्यांकनको खराब सूची अर्थात ग्रे लिष्ट पर्ने जोखिम टरिसकेको छैन । अवैध कारोबार गर्नेहरुको सम्पत्ति खोज्न सकिने अपराधका कसुरसमेत थपेर सरकारले कानुन संशोधन गरेको छ । तर यतिले मात्र यो जोखिम टर्ने देखिएको छैन । अवैध कारोबारको मुख्य चुनौतीका रुपमा सीमा क्षेत्रबाट हुने तस्करी र राजश्व छलीसँग पनि यो विषय जोडिएको छ । भारत र चीनतर्फका नाकाबाट हुने भन्सार छली र तस्करी नियन्त्रण प्रभावकारी बन्न सकेको छैन । बरु सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि नै तस्करहरु जाइलाग्ने गरेका छन् ।
भारतसँगको सिमा क्षेत्र सिराहामा खटिएका सशस्त्र प्रहरी बलका नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको गत मंसिर १६ गते गाडीको ठक्करले मृत्यु भयो । यादवलाई तस्करको गाडीले ठक्कर दिएको खुलेको थियो । सिमा नाकाबाट भइरहेको अवैध तस्करी नियन्त्रणमा कडाइ गरेपछि सुरक्षाकर्मीको हत्यामै तस्करहरू उत्रिएको बुझाइ सशस्त्र प्रहरीको छ । यद्यपी घटनाका आरोपी अझै पक्राउ परेका छैनन् ।
साउन यता मात्रै तस्करी नियन्त्रण गर्न बसेका सशस्त्रमाथि १५ वटा आक्रमणका घटना भएका छन् । ती घटनामा ६ जना घाइते भएका छन् । अवैध गतिविधि रोक्न गरिएको कारबाहीकै कारण तस्करहरूको निशानामा आफूहरू पर्ने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेको बुझाइ छ ।
सिमा क्षेत्रमा हुने यी घटना देशको अर्थतन्त्रसाग जोडिएको छ । नेपाल-भारत खुला सिमा छ । यही सीमा सबैभन्दा धेरै भन्सार छली र राजस्वसाग जोडिएको छ । भन्सार जाँचपास गराउन बस्ने निजामती प्रशासनको कमजोर उपस्थितिले अवैध तस्करी रोकिएको छैन । सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार गतसाउन यता मात्रै भन्सार तथा राजश्व छली गरेर ल्याइएको १ अर्ब ९४ करोडको सामान बरामद भएको छ ।
भन्सार छली गर्नेहरूको थप अनुसन्धान र कारवाही राजश्व अनुसन्धान कार्यालयहरूले गर्दै आएका छन् । यसरी अवैध कारोबार गर्नेहरूले सम्पत्ति तथा गैरकानुनी कारोबारको थप कारवाही कमजोर हुँदा त्यही पैसा सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको हुनसक्ने आशंका छ ।
सशस्त्र प्रहरि मात्रै होइन नेपाल प्रहरीले पनि अवैध कारोबार नियन्त्रणकै क्रममा चार महिनामा १ अर्ब ७६ करोडको राजस्व सरकारलाई बुझाएको नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । भन्सार र राजश्व छली नै सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि बनिरहेको मुख्य चुनौति हो ।
सुरक्षा निकायले सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न अन्य निकायको पनि साथ खोज्दै आएको सशस्त्र प्रहरी बल प्रवक्ता कुमार न्यौपानेले बताउनु भयो ।
नेपालमा स्रोत नखुलेको सम्पत्ति सुरक्षित गर्नेहरु बढेको भन्दै आलोचना हुँदै आएको छ । यही कारण सम्पत्ति शुद्धीकरणको जोखिम समेत बढ्दो छ । यस्तो बेला सिमा क्षेत्रको तस्करी नियन्त्रण अनिवार्य हो । सुरक्षा निकायले गरिरहेको प्रयास मात्रै पर्याप्त नहुँदा भन्सार तथा राजश्व छली गर्नेमाथि अनुसन्धान गर्ने संयन्त्रहरु पनि उत्तिकै सक्रिय हुन ढिला भइसकेको छ ।