काठमाडौं । पछिल्ला वर्ष दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नाफामा गिरावट आईरहेका बेला ग्राहकसमेत घटेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्लो ६ महिनामा मात्रै नेपाल टेलिकमका ७६ लाख १५ हजार ग्राहक घटेका छन् । गत असारमा नमस्तेका २ करोड २४ लाख २४ हजार ग्राहक रहेकोमा पुसमा आएर १ करोड ४८ लाख ८ हजारमा सीमित भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रवक्ता हरि ढकालले जानकारी दिनुभयो ।
एनसेल एक्जिआटाका भने १५ लाख ग्राहक बढेको प्राधिकरणको तथ्यांक छ । एनसेलका ग्राहक गत असारमा १ करोड ३२ लाख ३ हजार रहेकोमा अहिले १ करोड ४७ लाख ३७ हजार पुगेको छ । केही वर्षयता नाफा घट्दै गएकाले दूरसञ्चार कम्पनीहरूले भ्वाइस कलको विकल्प खोज्नु पर्ने प्राधिकरणको सुझाव छ ।
नेपाल टेलिकम र एनसेलका गरी गत असारमा ३ करोड ६२ लाख २६ हजार ग्राहक रहेकोमा अहिले २ करोड ९९ लाख ५४ हजारमा सीमित भएको छ । नेपाल टेलिकमको बजार हिस्सा गत असारमा ६३ प्रतिशत रहेकोमा ५१ प्रतिशतमा सीमित भएको छ भने ३६ प्रतिशत बजार हिस्सा ओगटेको एनसेल ४९ प्रतिशतमा उक्लिएको छ ।