हर्क साम्पाङको सिहंदरबार यात्रा : आश्वाशनदेखि असन्तुष्टीसम्म

माघ ८, २०८१ |किरण पौडेल
हर्क साम्पाङको सिहंदरबार यात्रा : आश्वाशनदेखि असन्तुष्टीसम्म

काठमाडौं । खानेपानी समस्या समाधान गर्नुपर्ने मागसहित संघीय सरकारको ध्यानाकर्षण गर्न सिंहदरबार छिरेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाउनुभएन । उहाँले आज खानेपानी र अर्थ मन्त्रालयमा पुगेर धरानको खानेपानी समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । धरानबाट रित्तो गाग्री लिएर आएका साम्पाङको सिंहदरबार यात्रा कस्तो रह्यो त ?

धरान उपमहानगर प्रमुख हर्क साम्पाङ पूर्वघोषित कार्यक्रमअनुसार नै खाली गाग्री नै लिएर मंगलबार बिहान १० बजे संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा पुग्नुभयो । रित्तो गाग्री नै बोकेर प्रधानमन्त्रीलाई भेट्ने भन्दै उहाँ सिंहदरबारको गेटमा पुग्नुभएको थियो । तर प्रहरीले गाग्री भित्र लैजान दिएन ।

गाग्री प्रहरीले लगेपछि उहाँ ११ नबज्दै सुरूमा खानेपानी मन्त्रालयभित्र छिर्नुभयो । मन्त्री प्रदीप यादवलाई भेटेर सवा १२ बजे अर्थ मन्त्रालय पुग्नुभयो । करिब २ घन्टा कुरेपछि अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभयो । दुवै मन्त्रीसँग उहाँले धरानको खानेपानी समस्या समाधान गर्न बजेटको व्यवस्था गरिदिन आग्रह गरेको बताउनुभयो ।

अर्थमन्त्रालयबाट सकारात्मक जवाफ पाएपछि उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभयो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास भने सफल भएन । प्रधानमन्त्रीले समय नै नदिएको उहाँको गुनासो छ । अब संघका प्रतिनिधि धरान आउँदा खाली गाग्रीले स्वागत गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँगाउँमा, शहर शहरमा खानेपानीको दुःख छ । हाम्रा ठूला ठूला नदीहरु, सप्तकोशी, कर्णाली, नारयणी जस्ता नदीहरु बगेर भारततिर गइरहेको अवस्था छ । त्यो पानीलाई लिएर हाम्रो धारामा झार्ने पनि क्षमता छैन । खानेपानी आधारभुत आवश्यकता हो । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिव मागेका छौँ ।’

धरानमा खानेपानीको समस्या छ । तत्कालका लागि उपमहानगरपालिकाले खानेपानीको समस्या केही समाधान गरे पनि दीर्घकालीन परियोजना सञ्चालन हुन सकेको छैन । खानेपानी मन्त्री प्रदीप यादवले धरानको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement