अनुसन्धान र सुरक्षाका साथी कुकुर

कार्तिक १५, २०८१ |रमेश धमला
अनुसन्धान र सुरक्षाका साथी कुकुर

काठमाडौं । मान्छेको सुरक्षाको भरपर्दो जनावर हो- कुकुर । नेपालीहरुको मौलिक पर्व तिहारमा जसरी कुकुरको पूजा र सम्मान हुन्छ, सुरक्षामा पनि उतिकै महत्त्व छ । सुरक्षा निकायहरुले विपद्‌मा बेपत्ताहरुको खोजीदेखि अपराध अनुसन्धानसम्ममा कुकुरलाई भरपर्दो मान्दै आएका छन् । त्यसैले नेपाल प्रहरीले पनि आफ्नो अपराध अनुसन्धानमा सबैभन्दा सफलता दिने कुकुरलाई तिहारको अवसरमा पूजा गर्दै पुरस्कारसमेत दिँदै आएको छ ।

डेढ वर्षअघि मात्रै नेपाल प्रहरीमा प्रवेश गरेको थियो– जर्मन सेफर्ड टाइगर । तर उ प्रहरीका लागि छोटो समयमै निकै भरपर्दो अनुसन्धानको साथी बनेको छ । यस वर्ष सर्वोत्कृष्ट अनुसन्धान गर्नेतर्फ पुरस्कार पाएको टाइगरले नुवाकोट र सिन्धुपाल्चोकमा भएका दुई हत्या काण्डमा आरोपी पक्राउ गर्न सफल बनाएको थियो । २०८० साल पुस १७ गते नुवाकोटमा ७५ वर्षीया नेत्रकुमारी क्षेत्री र २०८१ साउन १८ गते सिन्धुपाल्चोकमा ७२ वर्षीया रत्नकुमारी थापाको हत्या आरोपी टाइगरले नै पत्ता लगाइदिएको थियो । त्यसैले यस वर्ष उसैले उत्कृष्टको मेडल पायो र खुशीले सलुट पनि गर्‍यो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको भनिएको बमको खोजी गर्न होस् अथवा अन्य प्राकृतिक विपत्ति सबैमा कुकुरकै साथ लिँदै आएको छ । नेपाल प्रहरीसँग बम तथा विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने, हत्या आरोपी खोज्न सक्ने तथा लागुऔषध पत्ता लगाउन सक्ने १ सय वटा कुकुर छन् । यसअघि जर्मन सेफड र ल्याब्रोटर राखेको प्रहरीले अहिले विश्वमै उत्कृष्ट मानिएको बेल्जियन सेर्फड पनि ल्याएको छ ।

प्रहरीबाहेक नेपाली सेना र सशस्त्र प्रहरी बलले पनि आफ्नो सुरक्षा सारथीका रुपमा कुकुरलाई नै लिँदै आएका छन् । युद्धमा समेत कुकुरको प्रयोग हुने भएकाले नेपाली सेनाले दुस्मन पत्ता लगाउने, बम तथा विष्फोटक पदार्थ खोजी गर्ने, भग्नावषेशमा वेपत्ताहरुको खोजी गर्ने कुकुर राखेर भैरव बहान गुल्मनै स्थापित गरेको छ । नेपालमा विश्वका अनुसन्धान र सुरक्षा निकायले प्रयोग गर्दै आएको सुग्ने क्षमता अत्याधिक भएका ८ प्रकारका कुकुर बढी प्रयोग भइरहेका छन् ।

सातै प्रदेशमा प्रहरीको अनुसन्धान गर्न सक्ने कुकुरको युनिट राखिएको छ । नेपाल प्रहरीले २०२६ सालदेखि अनुसन्धानमा कुकुरको प्रयोग गर्दै आएको हो । 


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement