आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपालले भोलि अमेरिकासँग खेल्ने

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपालले भोलि अमेरिकासँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले भोलि घरेलु टोली अमेरिकाको सामना गर्दै छ ।

टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार भोलि राति सवा नौ बजे सुरु हुने छ । लिग टूमा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा बलियो टोली स्कटल्यान्डलाई ५ विकेटले हराउँदै नेपाल पुन: लयमा फर्किएको छ । 

तर यस त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले ३ विकेटले पराजित गरेको थियो । यस खेलमा कप्तान रोहित पौडेलले ९६ रनको इनिङ्स खेलेका थिए । साथै आक्रामक सुरुवातका बाबजुद नेपालले स्कोर बोर्डमा धेरै रन जोड्न सकेको थिएन । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

दोस्रो खेलमा स्कटल्यान्डलाई १ सय ५४ रनमा रोकेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यस खेलमा आरिफ शेखले नेपालका लागि उत्कृष्ट अल राउन्ड प्रदर्शन गरेका थिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीको ब्याटिङ फर्म चिन्ताको विषय बनेको छ । एकदिवसीय क्रिकेटमा दीपेन्द्रको ब्याट लामो समयदेखि चल्न सकेको छैन । शीर्ष क्रममा आशिफ शेख, अनिल साह र कुशल भुर्तेलले राम्रो ब्याटिङ गर्नु आवश्यक छ ।

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ७१ रनको विशाल अन्तरले पराजित भएको अमेरिकाले घरेलु सिरिजमा राम्रो प्रदर्शन गर्न सकेको छैन । यस सिरिजमा आफ्नो अन्तिम खेल खेलिरहँदा अमेरिका २ अंक जोड्ने लक्ष्यमा हुने छ । 

यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी-ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । दुई टोलीबीच हालसम्म खेलिएका ८ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ ।

लिग टू अंक तालिकामा नेपाल सातौं स्थानमा छ । रोहित पौडेलको टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । लिग टूमा कठिन लयबाट गुज्रिरहेको नेपाल प्रतियोगितामा आफ्नो स्थिति सुधार्न चाहन्छ । अर्कोतर्फ, अमेरिकाले बलियो प्रदर्शन गरिरहेको छ । अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.