ललितपुरको लुभुमा त्रिविको ३ सय ७५ र कुपण्डोलमा २१ रोपनी जग्गा रहेको तथ्य फेला

कार्तिक १५, २०८१ |प्रकाश बम
ललितपुरको लुभुमा त्रिविको ३ सय ७५ र कुपण्डोलमा २१ रोपनी जग्गा रहेको तथ्य फेला

काठमाडौं । धेरैलाई लाग्न सक्छ, त्रिभुवन विश्वविद्यालयको जग्गा कीर्तिपुरमा मात्र छ । तर, होइन । त्रिविको जग्गा खोजबिन गर्न गठित छानबिन समितिले कीर्तिपुरमा बाहेक उपत्यकाका विभिन्न ठाउँमा त्रिविको जग्गा रहेको तथ्य पत्ता लगाएको छ, जसका बारेमा न त त्रिविलाई थाहा छ, न सरकारलाई नै । वर्षौंदेखि गायब पारेर भोगचलन गरिएका ती जग्गा समितिले खोजिरहेको छ । उपत्यकामा कहाँ कहाँ भेटिएका छन् त्रिविका जग्गा ?

२०१३ साल तिरको कुरा हो । अर्थात् कीर्तिपुरमा त्रिवि निर्माणअघिको कुरा । त्रिवि स्थापनाका लागि गठित कमिसनले लुभु, महाराजगन्ज तथा छाउनीमा सम्भावित जमिनहरुको निरीक्षण गरेको थियो । तर, कहाँ उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्न सकेको थिएन । २०१३ असार १४ मा श्री ५ मुमा जेठा बडामहारानी अर्थात् कान्ति राज्य लक्ष्मीको अध्यक्षतामा नारायणहिटी राजदरबारमा बसेको बैठकले पनि स्थानबारे टुंगो लगाउन सकेन ।

यद्यपि उक्त बैठकमा विश्वविद्यालयका लागि लुभुको जमिन त्रिविको कार्यमा राखिदिने निर्णय गर्‍यो । त्यसपछि असार १७, २०१३ मा गोरखापत्रमा समाचार प्राथमिकताका साथ छापियो- 'तीन सय पचहत्तर रोपनी बिर्ता जग्गा त्रिभुवन विश्वविद्यालयका निम्ति श्री ५ मुमा बडामहारानीहरुबाट बक्सियो' शीर्षकमा प्रकाशित समाचारमा भनिएको छ-त्रिभुवन विश्वविद्यालय समितिबाट प्राप्त खबरअनुसार श्री ५ मुमा बडामहारानीबाट ३ सय ७५ रोपनी ललितपुर इलाकाको निजी बिर्ता जग्गा त्रिभुवन विश्वविद्यालयका लागि चन्दा स्वरुप बक्सेको छ । तर, पछि ललितपुरको लुभुस्थित उक्त जग्गाबारे कुनै खोज खबरै भएन । अर्थात् जग्गा झन्डै ७ दशकदेखि गायब राखियो । त्रिविको जग्गाबारे खोजबिन गर्न गठित समितिले उक्त जग्गाबारे केही तथ्य पत्ता लगाएको र वास्तविकताको नजिक पुगेको दाबी गरेको छ ।

कीर्तिपुरमा त्रिवि स्थापना गर्ने भइसकेपछि २०१३ माघ १८ गते नेपाल गजेटमा सूचना जारी गरी चार किल्लासमेत तोकिएको थियो । तत्कालीन अवस्थामा जग्गा अधिग्रहण गर्दा उत्तरमा बल्खुखोला, पूर्वमा बागती नदी, दक्षिणमा भाजंगलबाट किर्तिपुर जानेबाटो, पश्चिममा किर्तिपुरबाट कालिमाटी जाने बाटो निर्धारण गरिएको थियो । २०३३ बैशाख ७ गते नेपाल राजपत्रमा सूचना जारी गरेर पुनः चार किल्ला तोकियो । २०१३ देखि २०३३ सम्म आइपुग्दा त्रिविको चार किल्ला निकै खुम्चिइसकेको थियो ।

छानबिन समितिले धेरै यस्ता तथ्य पत्ता लगाएको छ, जहाँ कतै लालपुर्जा भएर पनि जग्गा छैनन् भने कतै जग्गा भएर पनि लालपुर्जा भेटिएको छैन । नेपाल कमर्श क्याम्पस मीनभवनको कुपण्डोलमा समेत २१ रोपनी जग्गा रहेको पत्ता लागेको छ । जुन जग्गाका बारेमा न त क्याम्पसलाई जानकारी छ, न त्रिविलाई ।

त्यतिमात्रै नभएर विश्वविद्यालयको कपनमा २९ रोपनी जग्गा भेटिएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान-आईओएमको नाममा टोखामा ५० रोपनी, हात्तीगौंडामा ५ रोपनी र साँखुमा जग्गा रहेको सूचनाका आधारमा समितिले खोजी गरिरहेको छ । समितिले काठमाडौ उपत्यकाका २१ क्याम्पसको भ्रमण तथा त्रिविका पूर्वपदाधिकारीहरुसंगको बयानका आधारमा तथ्यहरु संकलन गरिरहेको छ ।

सरकारले गत जेठ १८ गते त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो । तर संयोजक त्रितालको स्वास्थ्य अवस्थाका कारण महेन्द्रकुमार थापालाई संयोजकको जिम्मेवारी हस्तान्तरण गर्दै समय थप गरिएको थियो । त्यसै अनुरुप समितिले प्रतिवेदन लेखन थालेको छ ।

अबको १५ दिनभित्रमा त्रिविको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन र अनुगमनलगायत अचल सम्पत्तिको लगत संकलन गरी समितिले प्रतिवेदन बुझाउनेछ । तर समितिले पत्ता लगाएका तथ्यहरुलाई हेर्ने हो भने त्रिविको कति जग्गा हडपिएको छ भन्नेबारे अझै निर्क्योल हुने देखिँदैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement