काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हात पारेको छ । विराटनगरमा आज भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको फराकिलोअन्तरले पराजित गरेको हो ।
कोशीको जितमा सोनु अन्सारीले ८९ रनको अर्धशतकीय इनिङ खेले । पराजित कर्णाली ४ खेल खेलिसक्दा प्रतियोगितामा जितविहीन एक मात्र टोली बनेको छ । विराटनगर ज्वाला क्रिकेट मैदानमा कोशीले टस जितर पहिला ब्याटिङ गर्दै ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रनको योगफल तयार पारेको थियो ।
४४ रन जोड्दा ४ विकेट गुमाएर खराब अवस्थामा पुगेको कोशीका लागि सोनु अन्सारीले ९५ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । आशिस मगरले २१, इस्टेन रिजालले २३, कप्तान सौजन घिमिरेले १५ र विपीन महताले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका लागि अरविन्द घर्तीले ४ विकेट लिए । युनिश ठकुरी र विजय बोहोराको नाममा २-२ विकेट रह्यो ।
२ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २५ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । उसका लागि अरविन्द घर्तीले २१ र कमल विष्टले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कर्णालीलाई सस्तैमा रोक्न आशिष मगर र प्रेम कामतले समान ३-३ विकेट बाँडे ।
जितसँगै कोशीले ४ खेलमा १ अंक जोडेको छ । ऊ सातै प्रदेशको सहभागिता रहेको प्रतियोगिताको छैठौं स्थानमा छ । ३ खेलमा जितविहीन कर्णाली पुछारमा छ ।
आजै सम्पन्न अर्को खेलमा मधेश प्रदेशले सुदूर पश्चिम प्रदेशलाई ११ रनले पराजित गर्यो । यस प्रतियोगितामा सुदूरको यो पहिलो हार हो । मधेश ४ खेलमा २ जितसहित ४ अंक जोडेर चौथो स्थानमा छ । समान खेलमा ६ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छ । प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा बागमती र कोशी तथा गण्डकी र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्ने छन् ।