सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

लामिछाने र छविलाल जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने
कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ । संगठित अपराधमा रुपन्देही जिल्ला अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएपछि उहाँलाई उतै लैजाने तयारी भएको हो ।

कास्की जिल्ला अदालतले भने पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अब लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ ।

त्यस्तै अर्का आरोपी लीला पछाइँलाई पनि ७ दिन म्याद थप गरिएको छ । म्याद थपका लागि हिजो तीनै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । हिजो प्रहरीले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नेगरी म्याद लिएको छ ।

यसअघि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानमा गरिरहेको प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि एकसाथ लैजानेगरी म्याद लिएको हो । सङ्गठित अपराध अनुसन्धानमा ६० दिन हिरासतमा राख्ने पाउने प्रावधान रहेकोमा सम्पत्ति शुद्धीकरणमा आरोपितलाई ९० दिन थुनामा राख्न सकिन्छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए भने रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। जोशीसँग म्याद मिलान गरेर हिजो दुवैको एकसाथ सात दिन म्याद थप भएको हो ।

सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई बुधबार सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक दुवै जनालाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

सम्बन्धित समाचार...

रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी

रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.