रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सातदिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

त्यस्तै अर्का आरोपी लीला पछाइँलाई पनि ७ दिन म्याद थप गरिएको छ । म्याद थपका लागि आज दुवै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

असोज ६ गते पक्राउ गरी पोखरा पुर्‍याइएका जोशीलाई अदालतले पछिल्लोपटक असोज १७ गतेदेखि लागु हुनेगरि २० दिनको म्याद थपेको थियो भने कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । 

दुवै जनालाई अदालतले यसअघि दिएको म्याद सकिएपछि प्रहरीले थप म्यादका लागि अदालत लगेको हो । सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई हिजो सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ । 

गोर्खा मिडियाका पूर्वसञ्चालक दुवै जनालाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरूले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.