भारतको ओडिसा तटमा ठोक्कियो शक्तिशाली समुद्री आँधी

भारी वर्षाका साथै थुप्रै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध
पश्चिम बंगालमा समेत आँधीको असर
कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 भारतको ओडिसा तटमा ठोक्कियो शक्तिशाली समुद्री आँधी

काठमाडौं । शक्तिशाली चक्रवाती समुद्री आँधी 'दाना' भारतको पूर्वी राज्य ओडिसाको तटमा ठोक्किएको छ । बंगालको खाडीमा विकसित भएको उक्त आँधी एक सयदेखि एक सय १० किलोमिटर वेगको हावाका साथ भिटारकनिका र धर्मा जिल्लाको बीचमा ठोक्किएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

आँधीका कारण भारी वर्षा हुनुका कासाथै कैयौँ स्थानमा रुखहरु उखेलिएको र थुप्रै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ । आँधीको असर ओडिशाको छिमेकी राज्य पश्चिम बंगालमा समेत देखा परेको छ ।

पश्चिम बंगालमा कम्तीमा एक जनाको मृत्यु भएको जनाइएको छ । कोलकाताको उत्तरी र पूर्वी क्षेत्र जलमग्न भएको छ । 

भुवनेश्वरको बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थल र कोलकाताको नेताजी सुबासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व सावधानी अपनाउँदै बिहीबार साँझदेखि हवाई उडान स्थगित गरिएकोमा आज बिहान आठ बजेदेखि सेवा सुचारु गरिएको जनाइएको छ ।

चक्रवात दानाले पुर्‍याउन सक्ने क्षतिलाई ध्यानमा राख्दै ओडिशा र पश्चिम बंगाल दुवै राज्यमा लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो भने विद्यालयहरु बन्द गरिनुका साथै चार सयभन्दा बढी रेल र हवाई उडान स्थगित गरिएको थियो । 

उक्त चक्रवातको वेग केही घण्टाभित्रै क्रमश कमजोर हुँदै जाने भारतीय मौसम विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.