रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी

सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने
कार्तिक ८, २०८१ |अमृता अनमोल
रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी

बुटवल । जिल्ला अदालत रूपन्देहीले बुटवलको सुप्रिम सहकारीको बचत अपचल प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले आज छामिछाने र जोशीसँगै अरू आरोपितहरूलाई सङ्गठित अपराधमा पक्राउ गर्ने अनुमति दिएको हो । अदालतको अनुमतिसँगै रवि लामिछानेलाई रूपन्देही लगेर अनुसन्धान गरिने भएको छ ।

अदालतले सङ्गठित अपराधमा पक्राउ अनुमति दिएका अन्य व्यक्तिहरू दीपक लामा, अनन्त बाबु राई, श्रीवल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जीसी र शिवबहादुर गुरुङ रहेका छन् । अदालतद्वारा जारी विज्ञप्तीमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ ।

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशीसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस् :-

रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।