काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिँदै

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आजै कास्कीको पोखरा लैजाँदै छ ।

लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.