राहतको पर्खाइमा काभ्रे रोशीका बाढीपहिरो पीडित

कार्तिक २, २०८१ |पुजन धिताल
राहतको पर्खाइमा काभ्रे रोशीका बाढीपहिरो पीडित

काभ्रे । गत असोज दोस्रो साता आएको बाढी र पहिरोले अस्तव्यस्त काभ्रेको पनौती नगरपालिका-१२ स्थित रोशी क्षेत्रका नागरिक सरकारको बाटो हेरेर बसेका छन् ।

विपद् सामना गरेको तीन साता वितिसक्दा पनि पीडितहरुले न राहत पाएका छन् न त क्षतिको तथ्यांक नै संकलन भएको छ । तीन वटा विद्यालय त अझै सञ्चालनमा आउन सकेका छैनन् ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षापछिको बाढी र पहिरोले काभ्रेको पनौती नगरपालिका वडा-१२ मा मात्र पााच जनाले ज्यान गुमाए । भौतिक क्षति कति भयो भन्ने अझै टुंगो लागेको छैन ।

बाढी र पहिरो प्रभावितले अझै राहत पाएका छैनन् । राहतका नाममा एक बोरा चामल बाहेक केही नपाएको बताउने स्थानीयलाई दैनिकी चलाउनै समस्या छ । पीडितहरु छिमेकीको सहारामा बस्दै आएका छन् । कतिपय त भत्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य छन् ।

बाढी र पहिरोमा परेका तीन वटा विद्यालय अझै सञ्चालनमा आउन सकेका छैन । खानेपानीदेखि विद्युत्का संरचना बगेका छन् । नगरपालिकाले बल्ल उपसमिति गठन गरेर क्षतिको विवरण संकलन थालेको छ ।

पनौती नगरपालिकाको वडा-२ र १२ को सीमा क्षेत्रमा मात्रै ११ वटा खानी तथा क्रसर उद्योग छन् । अव्यवस्थित खानीका कारण पनि ठूलो विपद् निम्तिएको जनप्रतिनिधि स्वीकार गर्छन् । 

सरकारले काभ्रेका धुलिखेल र बनेपा नगरपालिकाबाहेक ११ वटा स्थानीय तहलाई संकटग्रस्त पालिकाको सूचीमा राखेको छ । तर विपद्बाट प्रभावित नागरिकको आवश्यकता पूरा गर्नतर्फ अझै काम अघि बढेको छैन ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।