दाङमा जग्गाको विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा जग्गाको विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

दाङ । दाङमा आफैंले चक्कु हानेर मृत्यु भएको भनिएका अनिल तामाङको आफ्नै दाजुले हत्या गरेको खुलेको छ । घरायसी जग्गा विवादका कारण दाजु पूर्ण तामाङले चक्कु प्रहार गरी भाइ अनिलको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक अनिल ठकुरीले बताउनु भयो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २८ वर्षीय छोरा अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले मंगलबार चक्कु प्रहार गर्दा घाइते भएका थिए । घाइते तामाङको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो ।

घरायसी जग्गा विवादका कारण दाजु पूर्णले अनिलाई मगंलबार बिहान करिब सवा १० बजेतिर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका भाइ अनिलले नै आफैं पेटमा चक्कु प्रहार गरेको भनेर दाजु पूर्णले प्रहरीलाई खबर गरेका थिए । तर घटना संकास्पद देखिएपछि प्रहरीले दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएको थियो ।

जग्गाको विषयलाई लिएर बुबासँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो । 

काठमाडौंमा रहेका अनिल असोज २३ गते बुबाआमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका-४ हापुरे आएका थिए । मृतकका बुवा सोमार तामाङले केही वर्षदेखी बबई गाँउपालिका-४ हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.