समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताउनुभएको छ ।

निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला उहाँले सो अभिव्यक्ति दिनुभएको हो । मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्दमा फस्ने चेतावनी समेत दिनुभयो । बुधवार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उहाँले मुलुकलाई अर्को द्वन्दमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिने भन्दा पनि राजनीतिक पार्टीहरुले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मुलुकको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको पनि स्मरण गराउनु भयो । जनप्रतिनिधिहरुको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले पनि संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो ।

उहाँले भन्नुभयो, 'हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौं ? प्रश्नहरु उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्दमा जान तयार हुनुपर्छ। यो कुरा सबैले बुझ्नुपर्छ ।'

मन्त्री गुरुङले देशमा कुनै पनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन पनि संघीयता ल्याउनुपरेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.