मन्थलीमा अड्किएका पर्यटकलाई नेपाली सेनाको जहाजले लुक्ला ल्याउने

आश्विन ३०, २०८१ |भानुभक्त निरौला
मन्थलीमा अड्किएका पर्यटकलाई नेपाली सेनाको जहाजले लुक्ला ल्याउने

सोलुखुम्बु । रामेछापको मन्थलीमा अड्किएका पर्यटकलाई नेपाली सेनाको जहाज मार्फत लुक्ला ल्याइने भएको छ । प्रतिकूल मौसमका कारण उडान हुन नसकेर मन्थलीमै थन्किएर बसेका पर्यटकहरुको उद्धारका लागि नेपाली सेनाको जहाज प्रयोग गरिने रक्षा मन्त्री मानवीर राईले बताउनुभयो ।

३ दिनदेखि मन्थलीमा अड्किएका ५ सयभन्दा बढी पर्यटकलाई लुक्ला विमानस्थल पुर्‍याउने नेपाली सेनाको जाहाज प्रयोग गर्न निर्देशन दिएको रक्षामन्त्री राईको भनाइ छ । ‘मैले सेनाको जहाज प्रयोग गरेर पर्यटक लुक्ला पुर्‍याउन निर्देशन दिएको छु,’ रक्षा मन्त्री राईले भन्नुभयो, ‘सकभर आजै नभए भोलि बिहानैबाट सेनाको जहाँजले यात्रु ल्याउनु सुरु गर्छ ।'

यता ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल(टान)ले रामेछापको मन्थलीमा अलपत्र परेका पर्यटकहरुको विवरण उपलब्ध गराउन पर्यटन व्यवासायीहरुलाई सर्कुलर जारी गरेको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले तत्काल उद्धार गर्नु पर्ने पर्यटकको संख्या उपलब्ध गराउन ट्रेकिङ कम्पनीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार न्यूनतम ५ सयको संख्यामा विदेशी पर्यटकहरु मन्थलीमा अलपत्र परेका छन् । ‘मन्थलीमा ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका छन्,' महासचिव शेर्पाले भन्नुभयो, 'हामीले अन्य विमानहरुले चाप धान्न नसक्ने अवस्था आएकाले नेपाली सेनाको जहाँज समेत प्रयोग गरेर पर्यटकलाई गन्तव्यमा पुर्‍याउन समन्वय गरिरहेका छौँ ।'

नेपाली सेनाको १६ सिट यात्रु बोक्ने जहाजले दैनिक ६ वटाभन्दा बढी चार्टड उडान गर्नेछ ।

त्यस्तै लुक्लामा ३ सयको हाराहारिमा फर्कने विदेशी पर्यटकहरु जाहाँजको पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । मौसम प्रतिकूल भएकै कारण सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्यामा गिरावट आएको छ । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।