महानवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि मेला

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
महानवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि मेला

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित वर्षमा एक दिन अर्थात् दशैंको महानवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि मेला लागेको छ ।

प्रत्येक वर्ष महानवमीका दिन तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिने प्रचलन छ । नेवार समुदायको इष्टदेवीका रुपमा पुजिने तलेजु भवानीको दर्शन र पूजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । तलेजुको दर्शन र पूजाका लागि बिहान ६ बजेबाट सर्वसाधारणका लागि मूलढोका खोजिएको हो । वर्षको एकदिन महानवमीका दिनमात्र खुल्ने भएकाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।

काठमाडौंका विभिन्न टोलहरुबाट परम्परागत बाजागाजा सहित आएर श्रद्धालुहरुले तलेजु भवानीप्रति भक्तिभाव चढाउने गर्छन् ।

साक्षात् देवी तलेजुको दर्शन र पूजा गर्नाले सुख समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेकै कारण आजका दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्छ ।

सत्रौं शताब्दीमा सिम्रौनगढबाट तलेजु भवानीलाई काठमाडौं ल्याइएको जनविश्वास छ । साथै आजको दिन वसन्तपुरस्थित कुमारीघरमा जीवित देवी कुमारीको दर्शन र पूजाका लागि पनि घुइँचो लागेको छ । साँझ जीवित देवी कुमारीलाई तलेजुको दर्शन गराइने समेत प्रचलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement